काठमाडों ,२८ जेठ ।
नेपाल पत्रकार महासंघले स्थानीय तहको चुनावमा उम्मेदवार बन्ने सदस्यहरुमा कार्यसमितिबाट राजीनामा दिन आग्रह गरेको छ । स्थानीय तहको चुनावमा पत्रकारहरु उम्मेदवार बन्न थालेपछि नेपाल पत्रकार महासंघको सचिवालय बैठकलबाटै यस्तो निर्णय गरेको हो । यही जेठ २४ गते बसेको सचिवालयको बैठकले चुनाव लड्ने पत्रकारहरुले महासंघको कार्यसमितिबाट राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।
बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै महासंघका महासचिव उजिर मगरले जिल्ला, प्रदेश र केन्द्र जुनसुकै कार्यसमितिमा रहेका पदाधिकारी वा सदस्यहरु राजनीतिक दलहरुबाट उम्मेदवार बन्नु पर्ने भए महासंघको विधान अनुसार उम्मेदवार हुन अघि नै राजीनामा दिन अनुरोध गरेका छन् । यदी राजीनामा नगरी उम्मेदवार भएमा कार्यसमितिको पद स्वतः रिक्त भएको मानिने महासंघले विज्ञप्ति मार्फत जनाएको छ ।
यस्तै साधारण सदस्यका सम्बन्धमा राजनीति र पत्रकारिता एक साथ गर्दा स्वार्थ बाझिने भन्दै नैतिक रुपमा सदस्यता तथा पत्रकारिताबाट अलग भएको घोषणा गर्न महासंघले आग्रह गरेको छ ।