तुलसीपुर,२८ जेठ ।
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली आज तुलसीपुर आउँदै हुनुहुन्छ । नेकपा एमालेले आयोजना गरेको विशाल जनसभालाई सम्वोधन गर्नका लागि ओली तुलसीपुर आउन लाग्नुभएको हो । दोस्रो चरणको निर्वाचन नजिक आइरहेको सन्दर्भमा निर्वाचन लक्षित कार्यक्रम तुलसीपुरमा गर्न थालिएको नेकपा एमाले दाङले जनाएको छ । नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का र सचिव हिराचन्द्र केसीले शनिबार विज्ञप्ती जारी गरेर आज तुलसीपुरमा आयोजना गरिएको सभामा सहभागिताका लागि आम दाङवासीलाई आह्वान गर्नुभएकोछ ।
उहाँहरुले तुलसीपुरको अरनिको मैदानमा आयोजना गरिएको कार्यक्रममा सहभागिताका लागि नेकपा एमाले दाङमा आवद्ध सम्पूर्ण नेता कार्यकर्ताहरु, पार्टीका समर्थक एवं शुभेच्छुकहरुलाई आग्रह गर्नुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओली,सँगै उपाध्यक्ष युवराज ज्ञवाली,स्थायी कमिटि सदस्य शँकर पोख्रेल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसैगरी नेकपा एमालेका तर्फबाट तुलसीपुर उप महानगरपालिकामा मेयरका उमेदवार घनश्याम पाण्डेले पनि तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा सहभागिताका लागि आह्वान गर्नुभएको छ । एमाले दाङले दिएको जानकारी अनुसार दिउसो १२ बजेदेखि अरनिको मैदानमा शुरु हुने जन सभापूर्व ¥यालीको समेत आयोजना गरिएको छ ।
तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा कम्तीमा पनि २० हजार जनता उतार्ने तयारी गरिएको एमाले दाङले जनाएको छ ।