दाङ, जेठ २४ ।
घोराही तुलसीपुरलाई स्मार्ट सिटी र लमहीलाई आई.टी सिटी बनाउने लक्ष्यका साथ नेकपा एमाले दाङले संकल्प पत्र सार्वजनिक गरेको छ । ‘विकसित गाउँ नगरको अभियान, दाङको समृद्धिका लागि सूर्यमा मतदान’ भन्ने मुल नाराका साथ १८ वटा नीतिका २४ वटा कार्यक्रा समावेस गरिएको संकल्प पत्र सार्वजनिक गरिएको हो ।
संकल्प पत्रमा दाङलाई राजधानी बनाउनुका साथै राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती अञ्चल अस्पतालको स्तरबृद्धि गर्ने र स्वास्थ्य केन्द्र लमहीलाई ट्रमा सेन्टरका रुपमा विकसित गर्ने प्रतिवद्धता समेटिएको छ । दाङमा एमालेले नेतृत्व गर्न नपाएकै कारण जिल्ला विकासको अवसरबाट बञ्चित भएको मर्म समेटिएको संकल्प पत्रमा लमही–पुरन्धारा सडकलाई ६ लेन बनाउने र फास्टट्रयाक निर्माण गर्ने कार्यक्रम समेटिएको संकल्प पत्र निर्माण समितिका संयोजक विकिरण गौतमले जानकारी दिनुभयो ।
गौतमका अनुसार एमालेले केन्द्रको घोषणा पत्रका कार्यक्रमसँग जिल्लाका विकासका कार्यक्रम पनि जोडिएको छ । जसमा शिक्षा, पर्यटन, व्यापार, औद्योगीक, कृषि, स्वास्थ्यलगायतका १८ वटा नीति समेटिएका छन् । एमाले दाङका अध्यक्ष टीकाराम खड्काको प्रमुख आतिथ्यता एवं केन्द्रीय सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य शान्ता चौधरी, पूर्व अध्यक्ष लक्ष्मण आचार्य, घोराहीका पूर्व मेयर अमर डाँगी, एमालेको तर्फबाट मेयरका उम्मेदवार नरुलाल चौधरी, उपमेयर सीता न्यौपानेलगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण उपसचिव सुरामणि बेलबासेले गर्नुभएको थियो ।