घोराही, २४ जेठ ।
नयाँ शक्ति नेपाल दाङले राप्ती गाँउपालिकामा आफ्ना नेता र उम्मेदवारप्रति भएको घटनाको आपत्ति जनाएको छ । पार्टीले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरी राप्ती गाँउपालिकामा प्रमुख पदका उम्मेदवार नन्दकुमार चौधरी र राप्ती गाँउपालिका संयोजक होमप्रसाद शर्मालाई नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले सोमबार राप्ती गाँउपालिका–२ कटाहमा सांघातिक आक्रमण भएको भन्दै आपत्ती जनाएको हो ।
घटनाका पिडीत उम्मेदवार चौधरीले बिरामी परेका मामा भरत चौधरीलाई उपचार खर्चको लागि एक हजार भाई रामशंकर चौधरीलाई दिने बेलामा माओवादीका कार्यकर्ताले चुनावमा पैसा बाँडेको भन्दै आफुलाई आक्रमण गरेको बताउनुभएको छ ।
त्यस्तै अर्का पिडीत नयाँ शक्ति पार्टी नेपाल राप्ती गाउपालिका संयोजक होम प्रसाद शर्माले आफुलाई करिब २ घण्टा बन्धक बनाएर माओवादीका नेता तथा कार्यकर्ताले आक्रमण गरेको जानकारी दिए ।
नयाँशक्ति नेपाल दाङ संयोजक नेत्रलाल भट्टराई र संघिय समाजवादी फोरम नेपाल दाङ इन्चार्ज अशोक यादवले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आफ्ना नेता तथा उम्मेदवार माथी भएको आक्रमण लोकतन्त्रलाई नै धज्जी उडाएको टिप्पणि छ ।
नयाँ शक्ति नेपाल दाङ संयोजक नारायण भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आफन्तलाई बिरामी उपचारको लागि पैसा दिईएको र पार्टीले चुनाव जित्ने नाममा पैसा नबाँडेको पनि दावी गरिएको छ ।
फोटो सागर थापा