इन्सेकद्धारा जिल्लास्तरिय सम्वाद कार्यक्रम सम्पन्न

घोराही,२१ जेठ ।
इन्सेकद्धारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन (इएलपी) कार्यक्रम अन्तर्गत सेवा प्रदायक निकाय र सेवाग्राहीवीच जिल्लास्तरिय बहस ÷सम्वाद कार्यक्रम जेठ २१ गते घोराहीमा सम्पन्न भएको छ । मानवअधिकार निगरानी समूहका सदस्य मौसम आचार्यको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक विष्णुप्रसाद पन्थीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाविसस्तरिय मानवअधिकार निगरानी समूहका पदाधिकारी, संरक्षक शिक्षक तथा पत्रकारहरुले जिज्ञाशा राखेका थिए ।

कार्यक्रममा बोल्दै संरक्षक शिक्षकहरुले शैक्षिक सत्र सुरु भएको दुइमहिना वित्नै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न नसकेको, विद्यालयमा छात्रामैत्रि शौचालयको निर्माण हुन नसकेको, शिक्षक दरवन्दी नहुदा पठनपाठनमा समस्या आएको बताएका थिए । उनीहरुले विद्यालयमा महिनावारी हुदा छात्राहरुले कक्षा छोड्ने समस्या आएको भन्दै प्याडको व्यवस्था गर्न माग गरेका थिए । त्यसैगरी विद्यालयमा प्राथमिक स्वास्थ्य उपचारकालागि आवस्यक सामग्रीको व्यवस्था गर्न पनि माग गरे ।
सो अवसरमा बोल्दै विद्यालय निरिक्षक पन्थीले पाठ्यपुस्तकको समस्या देशव्यापी रहेको र छिटो छरिता पाठ्यपुस्तक उपलव्ध गराउन जिल्ला शिक्षा कार्यालयले समन्वय गरिरहेको बताए । उनले पाठ्यपुस्तक विना शिक्षण सिकाई प्रक्रिया रोकिन नहुने भन्दै शिक्षकहरुलाई वैकल्पिक सामग्रीको उपयोग गरी पठनपाठन गर्न सुझाव समेत दिए ।

यसैगरी उनले प्राथमिक उपचारका सामग्री र प्याडको व्यवस्था गर्न कार्यालयमा वजेट नआउने भन्दै व्यवहारिक रुपमा मसलन्दको नाममा जाने रकमलाई सदुपयोग गर्न सुझाव दिएका थिए । उनले शैक्षिक सुधारकालागि शिक्षा कार्यालय आवस्यक सेवा प्रवाह गर्न प्रतिवद्ध रहेको बताए । २५ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन इन्सेक जिल्ला प्रतिनिधी जे.एन.सागरले गरेका थिए ।

प्रकाशित मिति : २०७४ जेष्ठ २१ गते आइतवार
प्रतिक्रिया