तुलसीपुर, २० जेठ
ईलाका प्रहरी कार्यालय तुलसीपुरले ठूलो परिमाणमा हतियार सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ४ तरुले निवासी ६३ बर्षका बिक्रम कामी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए । प्रहरीले आरोपीको साथबाट ४ वटा पेस्तोल, २ वटा भरुवा वन्दुक, इन्सासमा लाग्ने ९ वटा गोली, एसएलआरमा लाग्ने एउटा गोली, १८ थान नाल, ७ थान पेस्तोलमा लाग्ने नाल, २ किलो बारुद, हतियार बनाउन प्रयोग गरिने पङ्खा, हतौडी, सनासो लगाएतका औजारहरु बरामद गरेको छ ।
प्रहरी उपरिक्षक तिम्लिसिनाका अनुसार एउटा लोड गरिएको अवस्थामा पेस्तोल पनि रहेको छ । विशेष सुराकीको आधारमा प्रहरीले कामीलाई घरबाटै पक्राउ गरेको हो । प्रहरीले कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय घोराहीमा पठाएको छ ।
के भन्छन् आरोपी ?
आरोपी कामीले २०४३ साल देखि हातहतियार बनाउदै आएको बताएका छन् । हातहतियार बनाउन जिल्ला प्रशसनकार्यालय दाङबाट २०४३ सालमा अनुमति (लाइसेन्स) लिएको बिक्रम कामीले बताउनुभयो । उहाँले बारबोर, भरुवा वन्दुक, टुटु बनाउने अनुमति पाएको बताउनुभयो । हातहतियार मर्मतबाट मासीक रुपमा पन्ध्रहजार रुपैयाँ कमाउने गरेको कामीले प्रहरी बताएका छन् ।
‘अरु हतियार बनाएपछि कार्वाही हुन्छ भन्ने थाहा भएन, कामीले भन्नुभयो बनाउन ल्याइदिएकाले बनाइदिएको हुँ ।’
पेस्तोल र भरुवा वन्दुक क–कस्का हुनु त्यो भने कामीले खुलाएका छैनन् । नबनाई दिए मार्ने डरले आफुले बनाईदिएको उनले बताएका छन् ।
के भन्छ जिल्ला प्रशासन ?
यता जिल्ला प्रशासन कार्यालय दाङले विस्तृत रुपमा बुझेर मात्रै भन्न सकिने बताएको छ । ‘हतियार बनाउनका लागि अनुमति दिएको भन्ने कुरा हैन होला, ‘प्रमुख जिल्ला अधिकारी मेघनाथ काफलेले भन्नु भन्नुभयो’ यदि अनुमति दिएको भए पनि कति दिनलाई हो त्यो सवै बुझेर पछि भन्न सकिन्छ ।’ कामीको बयानबाट दाङमा हतियार प्रयोग गर्ने र ओसापसार गर्ने अपराधिक गिरोह पत्ता लाग्न सक्ने प्रहरीले अपेक्षा गरेको छ ।