वायुमण्डलमा न्यून चापीय क्षेत्रको विकासले वर्षा

वायुमण्डलको तल्लो सतहमा न्यून चापीय क्षेत्रको विकाससँगै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण नेपालको मौसम बदली भई आज दिउँसो धेरै स्थानमा वर्षा भएको छ ।

उक्त वायुको प्रभावले काठमाडौँ उपत्यकासहित पश्चिमी भेग र पूर्वका धेरै स्थानमा वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्यान्ह चर्को घाम लागेको उपत्यकामा अपरान्ह मुसलधार वर्षा भएको थियो । वर्षाका कारण उपत्यकाका केही सडकमा सवारी आवागमनमा समेत अवरोध पुगेको थियो । कतिपय स्थानमा सडक जलमग्न हुँदा सवारी साधन र पैदल यात्रुको आउजाउ रोकिएको थियो ।दक्षिण पूर्वी हावा वायुमण्डलको तल्लो सहतमा बगेर स–साना न्यून चापीय क्षेत्रको विकास भएको तथा बङ्गालको खाडीमा जलवाष्पयुक्त हावा तल्लो सतहमा देखिएकाले नेपालमा बदलीसँगै वर्षा भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “दुई मौसमी प्रणालीसँगै ‘प्रि–मनसुन’ को समय भएकाले पनि खण्डित रुपमा वर्षा गराउने, बदली हुने र घाम लाग्ने प्रक्रिया चलिरहन्छ । पर्याप्त जलवाष्पयुक्त हावा नभएकाले हल्काफुल्का वर्षा हुने र घाम लाग्ने भइरहन्छ ।”

आज काठमाडौँ उपत्यकाको अधिकतम २९ र न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै विराटनगरमा ४७, सिमरामा ३९ र पोखरामा १५ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया