प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने: कित्ता क्लियर गर्नुस

काठमाडौं  २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरू भइरहेको बताएका छन् । यस्तो बेलामा आफूले मन्त्रीहरूलाई तपाई‌ंहरू कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् ।

‘मेराविरुद्ध षड्यन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाइवर्ड, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग भने, ‘यस्तोबेलामा तपाई‍ंहरू कता भनेर मैले सोध्नुपर्ने हुन सक्छ । तपाईंहरूले आफ्नो साइड रोज्नुपर्ने हुन सक्छ ।’

राष्ट्रपतिविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयास भइरहेको हल्लाबाट प्रधानमन्त्री प्रभावित भएको हुन सक्ने एक मन्त्रीले आशंका गरे । उनका अनुसार त्यस्तो गलत सूचना प्रधानमन्त्रीलाई कसैले भरिदिएको हुन सक्ने उनको अभिव्यक्तिबाट झल्किन्थ्यो । प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरूसँग छलफल गर्नुपूर्व शीतल निवासमा राष्ट्रपतिलाई भेटेका थिए ।

स्रोत– अनलाइनखबर

प्रकाशित मिति : २०७७ असार २० गते शनिवार
प्रतिक्रिया