दाङमा निर्वाचन लक्षित गतिबिधिहरु तिब्र

सुधासुमन ढकाल , ७ जेठ / जिल्ला निर्वाचन कार्यालय दाङले निर्वाचन लक्षित गतिबिधिहरु तिब्र बनाएको छ । दोश्रो चरणको निर्वाचन अन्तरगत जेठ ३१ मा हुन लागेको निर्वाचनका लागी दाङमा निर्वाचन लक्षित गतिबिधिहरु तिब्र पारेको हो ।  जस अन्र्तगत कार्यालयले मतदाता शिक्षा कार्यक्रमलाई पनि पुनः सञ्चालन गरेको छ । दुई चरणको निर्वाचन तालिका सार्वजनिक भएपछि बैशाख १२ गतेदेखि स्थगित भएको मतदाता शिक्षा कार्यक्रम यहि जेठ ५ गतेदेखि पुनः सुरु भएको निर्वाचन अधिकृत विजय कार्किले जानकारी दिनुभयो ।
कार्किका अनुसार २ उपमहानगरपालीका, १ नगरपालीका र ७ वटा गाउँपालिकाका ३ सय ५१ मतदान केन्द्रमा प्रत्येक मतदान केन्द्रका लागी एक÷एक जनाका दरले मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको छ । मतदानका सहभागीता बृद्धि गर्न, बदर मतको प्रतिशत घटाउन, निर्वाचनमा लैंगिक , समावेशिताका विषयमा जानकारी गराउन, मतदान गर्न लगायतका विषयमा जानकारी गराउनका लागी मतदाता शिक्षा कार्यक्रमको महत्वपुर्ण भुमिका रहने कार्यालयले जनाएको छ ।
साथै उनिहरुले मतदाता नामावली पनि लिएर गएको हुँदा मतदातालाई आफ्नो नामावली भएको नभएको पनि पत्ता लगाउन सजिलो हुने पनि कार्यालयको भनाई छ । “५ गते देखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम जेठ ३१ सम्म जारी रहने छ , उनिहरुले मतादाता परिचय पत्र वितरण, मतदान गर्ने तरिका, नमुना मतपत्रमा मतदान गर्न सिकाउने, नामावली हेरिदिने लगायतका काम गर्छन”, निर्वाचन अधिकृत कार्किले बताउनुभयो ।
त्यसैगरी कार्यालयले प्रत्येक मतदान केन्द्रका लागी हिजो नै मतदान अधिकृतहरु पनि तोकिसकेको निर्वाचन अधिकृत कार्किले जानकारी दिनुभयो । यस्तै कार्यालयले यहि जेठ १५ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय तोकिने जानकारी दिएको छ । साथै निर्वाचन लक्षित कार्यक्रम अन्र्तगत कार्यालयले सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, मतदान केन्द्रमा खटिने कर्मचारीहरुका लागि तालिम सञ्चालन गर्ने, मतदान केन्द्रमा निर्वाचनका लागी आवश्यक सामाग्री व्यवस्थापनको कामलाई तिब्र बनाएको निर्वाचन अधिकृत कार्किले जानकारी दिनुभयो । “ हामीहरुले अहिले विशेष गरेर निर्वाचनका लागि आएका  सामग्रीहरुको व्यवस्थापन, मतदान केन्द्रमा खटिने कर्मचारीहरुका लागि तालिम, मतदाताहरुलाई निर्वाचन प्रति सकारात्मक बनाउने लगायतका निर्वाचन लक्षित गतिबिधिहरुलाई तिब्र पारेका छौं”अधिकृत कार्किले बताउनुभयो ।।

प्रकाशित मिति : २०७४ जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया