आज २५६१औँ बुद्ध जयन्ती मनाईदै

काठमाण्डौ,२७ बैशाख

आज वैशाख शुक्ल पूर्णिमा, २५६१ औँ बुद्ध जयन्ती । गौतमबुद्धप्रति आस्था राख्दै मनाउने गरिएको छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्ध हुनुभयो । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । काठमाडौँको बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति ¥याली निकालिन्छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यसैविच राष्ट्रपति विद्यादेवी भण्डारीले २५६१ औं जन्मजयन्तीको अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत समस्त नेपालीहरु तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहने सबैलाई शुमकामना दिनुभएको । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको कार्यान्वयनार्थ सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन तोकिएको मितिभित्रै सम्पन्न गर्नुपर्ने राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।

बुद्ध जयन्ती तथा किराँत जातिको उभौली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले मुखैमा आएको निर्वाचनलाई सम्बन्धित सबै पक्षबाट उत्साहका साथ सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको विकल्प नरहेको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि २५६१औँ बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले शुभकामना सन्देश दिनुहुँदै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएकाले विविधता हाम्रो आकर्षण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो भन्नुभएको छ । प्रधानमन्त्रीले बुद्ध जयन्तीको यस महत्वपूर्ण दिनले हामी सबैलाई बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्न र सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना पनि दिनुभएको छ ।

यस्तै प्रमुख दलका शीर्ष नेताहरुले पनि बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा शुभकामना दिएका छन् । किरात समुदायले आज साकेला चण्डी नाच्दै उभौली पर्व मनाउने गर्दछन् ।

प्रकाशित मिति : २०७४ बैशाख २७ गते बुधवार
प्रतिक्रिया