शरद रेग्मी
बैशाख २६ तुलसीपुर / दाङको तुलसीपुरमा संचालन भएको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानका क्रममा मंगलवार जिल्लाका पत्रकारहरु हातहातमा झाडु वोकेर सडकमा देखिए । उनीहरु सामाजिक उत्तरदायित्व निर्वाह गर्न र सामाजिक क्षेत्रमा भैरहेको प्रसंसनिय कार्यलाई हातेमालो गर्न सडकमा आएको वताएकका छन् ।
कलमजीवीहरु यसरी हातमा झाडु वोकेर सडक छेउमा रहेको फोहोर समेत संकलन गरेको दृष्य देख्दा घर तथा पसलधनीहरु समेत सरसफाईमा सहभागी भएका थिए भने आयोजकहरु थप उत्साहित देखिएका थिए । ३८ औ हप्ताको सरसफाई अभियानको नेतृत्व गर्न नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन सहित तुलसीपुर पुगेका दर्जनौ पत्रकारहरु सरसफाईमा सहभागी भएका थिए ।
सो अवसरमा कार्यक्रमको उद्घाटन गर्दै पत्रकार महासंघका अध्यक्ष प्रियासनले तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालीकाको मुख्य आयोजनामा संचालन भैरहेको सरसफाई अभियानले मुलुक भर सकारात्मक सन्देश प्रवाह गरेको बताए ।
मंगलवार ३८ औ हप्ताको सरसफाई विरेन्द्र चौक देखि पिपलवोट वि.पी चौक हुदै नगरपालीको कार्यालय सम्म पुगी समापन गरिएको सरसफाई अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिए ।