स्थानीय चुनावमा तीन सय सोह्र जना निर्विरोध, एमाले अगाडि

काठमाडौं, २४ वैशाख ।

पहिलो चरणको स्थानीय तह निर्वाचनमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् । र, यसमा नेकपा एमालेले अरू दलभन्दा अगाडि देखिएको छ । प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा हुने चुनावका लागि बैशाख १९ गते उम्मेदवारी दर्ता थियो भने उम्मेदवारी फिर्ताको प्रकृया पुरा गरेर चुनाव चिह्न समेत प्रदान गरिएको छ ।

निर्वाचन आयोगका अनुसार केही स्थानमा उम्मेदवारी दर्ता भएकै दिन र केहीमा उम्मेदवारी फिर्तापछि निर्विरोध निर्वाचित भएका हुन् ।

आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार डोल्पाको शे–फोक्सुन्डो र मनाङको नार्फु गाउँपालिकाका सबै पदमा निर्विरोध निर्वाचित भएका छन् ।

शे–फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमालेका टसी तुन्डुप गुरुङ र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार धावा गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । डोल्पाकै डोल्पो बुद्ध गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार मल्लटसी गुरुङ निर्विरोध भएका छन् ।

मनाङको नार्फु गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसका मिङमा छिरिङ लामा र उपाध्यक्ष स्वतन्त्र उम्मेदवार कोन्जो तेन्जिङ लामा निर्विरोध भएका छन् ।

५६ वडाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । ६३ महिला वडा सदस्य, ७७ दलित महिला सदस्य  र ११६ खुलातर्फका वडा सदस्य पनि निर्विरोध निर्वाचित भएको सचिव मैनालीले बताए ।

विभिन्न पदमा निर्विरोध भएकामध्ये एमाले सबैभन्दा अगाडि छ । एमालेका १४२, कांग्रेसका ९४, माओवादी केन्द्रका ३६ र स्वतन्त्रबाट उम्मेदवारी दिएका ४२ जना छन् ।

राप्रपाका ४ तथा नयाँ शक्ति र परिवार दलको १-१ जना उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०७४ बैशाख २४ गते आइतवार
प्रतिक्रिया