काठमाडौँ, १९ वैशाख ।
वैशाख ३१ गतेका लागि तय गरिएको पहिलो चरणको चुनावका लागि वैशाख १९ गते मङ्गलबार उम्मेदवारहरूले मनोनयन गर्दैछन् । तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहको निर्वाचनका लागि मङ्गलबार मनोनयन दर्ता हुन लागेको हो । उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तय गरिएको छ । काँग्रेस, एमाले, माओवादी केन्द्र लगायतका ठूला दलले मनोनयनका लागि अधिकांश ठाउँमा उम्मेदवार चयन गरिसकेका छन् ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सबै मतदाता र राजनीतिक दललाई स्थानीय तह निर्वाचनका लागि हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन आह्वान गर्नुभएको छ । निर्वाचन आयोगको मिडिया सेन्टरमा सोमबार प्रमुख आयुक्त यादवले आयोगका पूर्वनिर्धारित निर्वाचनका कार्यक्रममा कुनै फेरबदल नहुने स्पष्टसमेत पार्नुभयो ।
पछिल्ला राजनीतिक घटनाक्रमले निर्वाचन हुँदैन कि भन्ने मतदाताको चिन्ताप्रति सङ्केत गर्दै यादवले भन्नुभयो, “निर्वाचनका लागि आवश्यक पर्ने सबै निर्वाचन सामग्री सम्बन्धित जिल्लामा पु¥याइसकिएको छ, भोलि मङ्गलबार हुने मनोनयनले निर्वाचनका बारेमा उठेका शङ्का, उपशङ्का, द्विविधा र हल्ला आफैँ हटेर जानेछन् । ”
नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन २०७३ ले व्यवस्था गरेअनुसार महिला, दलित, अल्पसङ्ख्यकका लागि यो इतिहासकै ठूलो अवसर भएको बताउनुहुदै प्रमुख आयुक्तले भन्नुभयो, “राष्ट्रले तपाईंको नेतृत्व विकासको अपेक्षा गरेको छ, तसर्थ तपाईंहरू अगाडि बढ्नुहोस् र स्थानीय सरकारमा निर्वाचित भएर आफ्नो गाउँ, नगरको विकासको अभियानमा सरिक हुनुहोस् । ” स्थानीय सरकारमा महिला, दलित, अल्पसङ्ख्यकसहितको समावेशी प्रतिनिधित्व रहनेछ ।
संवैधानिक रूपमा नै स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई सबैभन्दा बढी प्राथमिकतामा राखिएको छ । उहाँले नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिका अध्यक्ष÷उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानलाई राजनीतिक दलहरूले उत्साहपूर्वक लिएको बताउनुभयो । वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । महिला, दलित, अल्पसङ्ख्यक लगायतले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था छ ।
मतदाताहरूले स्थानीय तहको जग बसाउन आफ्नामात्र नभई सक्षम, योग्य र गुणस्तरीय उम्मेदवारलाई प्रोत्साहित गर्नु नै हुनेछ भन्दै आयोगले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएपछि उम्मेदवारका लागि समेत स्वतः निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ ।