एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै

काठमाण्डौ,१७ बैशाख ।
नेपक एमालेले आगामी स्थानीय तहको लागि पार्टीको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बराहीमा पत्रकार सम्मेलन गर्न लागिएको पार्टीले जनाएको छ । अस्तिको स्थायी समिति बैठकले घोषणा पत्रलाई अन्तिम रुप दिएको थियो । एमालेको घोषणापत्रमा विकास योजनाका साथै र सामाजिक क्षेत्रको विकासलाई प्राथमिकतामा पारिएको छ ।

घोषणा पत्रमा वृद्ध भत्ता मासिक ५ हजार पुर्याउने, वार्षिक चारदेखि पाँच लाखसम्म रोजगारी दिलाउने उल्लेख छ । त्यस्तै घोषणापत्रमा देशमा गरिबी र बाह्य चलखेल सहन नसकिने र मुलुकले एमालेको नेतृत्वमा छोटो समयमै आर्थिक समृद्धि हासिल गर्ने उल्लेख छ । घोषणा पत्र स्थानीय तहलाई बलियो बनाउने, आर्थिक विकास अगाडि बढाउने र सामाजिक समानता कायम गर्ने विषयमा केन्द्रित रहेको नेताहरुले बताएका छन् ।

यसैबीच एमालेले दुईवटा प्रदेशको उम्मेदवारहरुको नामावली पनि आज सार्वजनिक गर्ने भएको छ । हिजोको बैठकमा प्रदेश नम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्य र प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवालीले स्थानीय तहमा पार्टीको जिल्लाबाट सिफारिस भएर आएका उम्मेदवारहरुको विवरण प्रस्तुत गर्नुभएको थियो । प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मत रुपमा सबै उम्मेदवार निर्णय भइसकेको सकेको एमालेले जनाएको छ ।

यसैगरी प्रदेश नम्बर ३ मा महानगरपालिका र उपमहानगरपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार चयनका लागि प्रयत्न भइरहेको छ र आजै बिहानसम्म त्यसलाई टुंगो लगाइने प्रदेश संयोजक शाक्यले जानकारी दिनुभयो । सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर र ललितपुरमा सबै उम्मेदवाहरुको टुंगो भइसकेको छ भने अन्य जिल्लामा पनि ९० प्रतिशत भन्दा बढी स्थानमा उम्मेदवारहरु चयन भएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : २०७४ बैशाख १७ गते आइतवार
प्रतिक्रिया