सरकारले जातिय भेदभाव तथा छुवाछुत मुक्त राष्ट घोषणा गरेको १३ वर्ष पुरा,प्रधानमन्त्रीद्धारा शुभकामना

काठमाडौ, २१ जेठ । सरकारले जातिय भेदभाव तथा छुवाछुत मुक्त राष्ट घोषणा गरेको १३ वर्ष पुरा भएको छ । २०६३ साल जेठ २१ गते सरकारले छुवाछुत मुक्त राष्ट घोषणा गरेको थियो । सोहि दिनका सम्झनामा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताउनुभएको छ ।
आज एक शुभकामना सन्देश दिंदै उहाँले वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न लागेको बताउनुभयो । सरकार शताब्दीऔँसम्म विभेद र अन्याय सहेर बसेका दलित समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अगाडि बढाउन तल्लीन रहेको सन्देशमा उल्लेख छ ।
विगतमा पाखा पारिएकाहरूलाई राज्यको मूलप्रवाहमा समाहित गराइरहेको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीले सन्देशमा राज्यका हरेक अङ्ग र निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार दलित समुदायको प्रतिनिधित्व गराइने संवैधानिक व्यवस्था रहेको स्मरण गर्नुभएको छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट दलित समुदायका कम्तीमा एक–एक जना र स्थानीय तहको वडास्तरमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वलाई कानूनी रूपमा सुनिश्चित गरिएको बताइएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २१ गते मङ्गलवार
प्रतिक्रिया