बालकको हत्या गर्ने अपहरणकारीलाई प्रहरीले गोली ठाेक्यो

तुलसी भण्डारी

बीरगञ्ज । भारतमा स्थायी घर भई वीरगन्ज महानगरपालिका वडा नं.३ मा डेरा गरी बस्दै आएका विकास शर्माको मुख्य योजनामा अपहरणमा परेका ८ बर्षीय बालकको हत्या भएको छ । उनको बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २५ मा शव फेला परेको छ ।

शर्मा सहति अपहरणमा संलग्नहरुले बालकको अपहरण गरेको दिनमै हत्या गरेको हुन सक्ने पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका शम्भु साह तुराहा घर नजिकै डेरा गरी बस्ने शर्माले रिसिबीका कारण ८ बर्षीय बालकको अपहरण गरेको हुन सक्ने प्रहरीको भनाई छ । बालकको गएको जेठ १० गते शुक्रबारका दिन अहरण भएको थियो । बालक अपहरण भएको ६ दिन पछि मृत फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

शम्भु साहकै घर छेउमा केही महिना पहिलेदेखि डेरा गरी बस्दै आएका भारतीय नागरिक शर्मा घटनाका मुख्य योजनाकार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक ढकालले बताए । शर्मा सहित २ अभियुक्तलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ । बालकको अपहरण पछि ३० लाखबाट सुरु भएको वार्गेनिङ्ग ५ लाखमा आएपछि रोकिए पनि सुरुमा पैसा अनि बालक भन्दै परिवारजनलाई बालकको पहिले रेकर्ड गरेको अडियो सुनाई वार्गेनिङ्ग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको पर्सा प्रहरीले जनाएको छ ।

अपहरणको मुख्य योजनाकार भारत स्थायी घर भएका २१ बर्षीय विकास शर्मा र बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ११ घरका २० बर्षीय सिकेन्द्र साह तेली र बारा कै खपरताता बस्ने बर्ष २०⁄२१ का रामविनेश महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये शर्मा र तेलीलाई भने कम्मरमुनि गोली हानी नियन्त्रणमा लिन परेको पर्साका प्रहरी उपरिक्षक ढकालले दावी गरे ।

‘बच्चाको हत्या गरी शव फालेको ठाउँ प्रहरीलाई देखाएर उनीहरु भाग्न खोजेका थिए’

उनीहरु प्रहरीलाई झुक्याई भाग्न थालेकोले गोली नै चलाई नियन्त्रणमा लिन परेको उनको तर्क छ । ‘बच्चाको हत्या गरी शव फालेको ठाउँ प्रहरीलाई देखाएर उनीहरु भाग्न खोजेका थिए’ उनले भने । प्रहरीको गोलीबाट घाइते दुवै अभियुक्तको दाया खुट्टामा गोली लागेको वीरगन्जको नारायणी अस्पतालका चिकित्सकले बताए । अपहरणमा संलग्न बाराकै खपरताता बस्ने महतोलाई भने सकुशल नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । महतोलाई भने पर्सा प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घाइते अपहरणमा संलग्नहरुको भने प्रहरी नियन्त्रण नै वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरी उपरिक्षक ढकालले बताए ।

बालककाे अपहरण कसरी ?

बालक गएको जेठ १० गते शुक्रबार बिहान १० बजेतिर वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगर स्थित आफ्नै घर अगाडी खेलिरहेको समयमा अपहरण भएको परिवारजनले बताएका हुन् । पीडित परिवारले प्रहरीको चुस्त कार्य सम्पादन नहुँदा बच्चालाई गुमाउनु परेको आरोप लगाएका छन् ।

अपहरण पछि हत्या भएका बालकको शव बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २५ खौराही खोलामा फालेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक बालकको शव जिल्ला अस्पताल बारामा पोष्ट मार्टमपछि बुधबार नै आफन्तको जिम्मा लगाइसकिएको बाराका प्रहरी नायव उपरिक्षकर रंजित सिंह राठौरले बताए ।

प्रकाशित मिति : २०७६ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया