अनुदानमा टनेल वितरण

तुलसीपुर, १५ जेठ 

तुलसीपुर उपमहानगरपालिकाले व्यावसायिक तरकारी खेति गर्ने किसानहरुलाईटनेल वितरण गरेको छ । वेमौसमी तरकारी खेती गर्नेहरुलाई लक्षित गरेर टनेल वितरण गरिएको कृषि शाखाका प्राविधिक सहायक कुलराज चौधरीले जानकारी दिए । उनले नमुना किसानलाई छनोट गरेर अनुदान दिइएको पनि जानकारी दिए ।
कार्यक्रममा टनेल वितरण गर्दै नगरप्रमुख घनश्याम पाण्डेले सही सदुपयोग गरेर उत्पादन वढाउन आग्रह गरेका थिए । उनले राम्रो गर्ने किसानलाई थप अन्य अनुदान पनि दिइने जानकारी दिए । ‘कृषिमा व्यवसायीकरण गरेर जीवनस्तर सुधार्नु आवश्यक छ ’ नगरप्रमुख पाण्डेले भने । उनका अनुसार पहिलो चरणमा १ सय किसानहरुलाई आवश्यकता अनुसार १ देखि ३ वटासम्म टनेल वितरण गरिएको छ । प्राविधिक सहायक चौधरीका अनुसार किसानहरुलाई पचास प्रतिशत अनुदानमा टनेल वितरण गरिएको हो । ‘एउटालाई ५ हजार ३ सय पर्दछ त्यसको पचास प्रतिशत कममा दिने गर्दछौ’ उनले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ क्वाङी निवासी कालिचरण चौधरीले टनेललाई उपयोग गरेर उत्पादन वढाउने वताए । उनले यो भन्दा अगाडि कतैवाट सहयोग नपाएकोमा भन्दै टनेल पाउँदा खुसी भएको जानकारी दिए । एउटा टनेल १२ मिटर लम्वाइ र ६ मिटर चौडाईको हुने गर्दछ । एउटा टनेलको ५ वर्षसम्म टिक्ने प्राविधिक सहायक चौधरीले भने । यसका साथै सिचाई सुविधा कम भएको ठाउँमा थोपा सिचाँई सुविधाका लागि पनि अनुदान दिन लागेको उनको भनाई थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया