लोकसेवा आयोग द्धारा ९ हजारभन्दा बढी कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान

काठमाडौ,१५ जेठ । लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजारभन्दा बढीको सङ्ख्यामा नयाँ कर्मचारी भर्नाका लागि आज विज्ञापन आह्वान गरेको छ । आयोगले स्थानीय तहमा रिक्त कर्मचारी अभावलाई कम गर्न बिभिन्न सेवा समूह तथा उपसमूहका लागि कर्मचारी भर्नाको आह्वान गरेको हो ।देशभरका ५ सय ५५ स्थानीय तहले १४ हजार ६ सयको सङ्ख्यामा कर्मचारी माग गर्दै विवरण पठाएको भए तापनि आयोगले हालका लागि ९ हजार बढीको सङ्ख्यामा मात्र भर्ना आह्वान गरेको हो । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार बाँकी कर्मचारीका लागि बढुवा, आन्तरिक प्रतिस्पर्धा तथा पुनः नयाँ भर्ना प्रक्रियाद्वारा गरिनेछ ।

कर्मचारी समायोजनलगायतका कारण आयोगको नियमित प्रक्रियाअनुसार कर्मचारी भर्ना हुन सकेको थिएन । आयोगले चौथो तहदेखि नवौँ तहसम्म कर्मचारी भर्ना आह्वान गरेको हो । आयोगका देशभर रहेका १४ स्थानका कार्यक्षेत्रभित्र पर्ने स्थानीय तहका लागि भने देशभर एकै प्रकारको पाठ्यक्रम र परीक्षा प्रणाली रहेको छ । मुलुकभर रहेका ७५३ मध्ये ५५५ तहले मात्र कर्मचारी आवश्यक रहेको विवरण पठाएका थिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया