पाँचथर हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि गरिदै

पाँचथर , ९ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा गत जेठ ६ गते सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि विहिवार गरिँदैछ । हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा पोष्टमार्टमपछि केही समयअघि घटनास्थल आरुबोटेमा लगीएको जनाईएको छ ।
विभत्स हत्या गरिएका ९ जनाको विहिवार दिउँसो नै अन्त्येष्टि गर्ने तयारी भइरहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताएका छन् । हत्या गरिएका दुई परिवारमध्ये बमबहादुर फियाकको परिवारका ४ जनाको आरुबोटेमै अन्त्येष्टि गरिने बताइएको छ ।
विभत्स हत्याकाण्डमा ७५ वर्षीय बमबहादुर फियाकसँगै उनकी श्रीमती पुर्सिमायाँ फियाक, छोरीहरु २६ वर्षीया मनकुमारी फियाक र १२ वर्षीया श्रेया फियाकको ज्यान गएको थियो ।हत्या गरिएका बमबहादुरका ज्वाँई धनराज शेर्माका परिवारको भने मिक्लाजुङ–२ मा रहेको सराङडाँडाको बतासे भन्ने ठाँउमा अन्त्येष्टि गरिने बताइएको छ ।
शेर्मा परिवारका ४१ वर्षीय धनराज शेर्मासहित उनकी ३६ वर्षीया श्रीमती जस्मिता फियाक, छोरीहरु ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा र ८ वर्षीया मुना शेर्माको विभत्स हत्या गरिएको थियो ।

घटनामा संलग्न हुनसक्ने भनेर प्रहरीको शंकाको घेरामा रहेको बमबहादुरको कान्छा ज्वाईँ मानबहादुर माखिमको पनि मंगलबार दिउँसो घटनास्थल देखि करिब डेढ घण्टा पर झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।उनको शव पनि पोष्टमार्टम गरेर आरुबोटे लगीएको छ । तर उनको शव भने परिवारलाई दिइएको छैन । घटनाको बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलिले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते बिहिवार
प्रतिक्रिया