बाख्रेको बाटो पुनः संचालनमा, ट्रयाक खोल्न ३५ लाख

 

तुलसीपुर, ४ जेठ

तुलसीपुरको फुलबारी स्थित कुटीबाट बाख्रे, पूर्व–पश्चिम राजमार्ग, बाङ्गे ताल हुदै भौवानाका जोड्ने नेत्र श्रीमणी स्मृतिमार्गको ट्रयाक खोलिएको छ । संघिय सांसद हिराचन्द्र केसीको क्षेत्र विकास कोषबाट विनियोजित ३५ लाख बजेटबाट सबैभन्दा पुरानो सडकको ट्रयाक खोलिएको हो । तुलसीपुर उपमहागनरपालिका–१३ को फुलबारी स्थित कुटीबाट पूर्व पश्चिम राजमार्ग स्थित बाङ्गे तालसम्मको दुरी साढे नौ किलोमिटर छ । यो सडकलाई मानपुर, बिजौरी, छिल्लीकोट हुदै रोल्पाको जलजलासंग जोड्नेगरि स्थानीय, प्रदेश र संघिय सरकारले तयारी गरेका छन् । अमिलिया तुलसीपुर सडक खण्डभन्दा नेत्र श्रीमणी स्मृति मार्ग कम जोखिम पूर्ण र छोटो दुरीको छ । ‘अमिलिया तुलसीपुर सडक खण्ड जस्तो डरलाग्दो पहाड, भिर र अप्ठेरो यो सडक छैन,’ तुलसीपुर उपमहानगरपालिका इन्जिनियर पवन योगीले भन्नुभयो– ‘कम लागतमा यो सडक राम्रो र फराकिलो बनाउन सकिन्छ ।’ सडकलाई चौडा र पक्की नाला बनाउन आगामी बर्षमा एक करोड बजेट विनियोजन गर्ने संघिय सांसद हिराचन्द्र केसीले जानकारी दिनुभयो । तत्कालिन समयमा सरकारको आँखा नलागेका कारण सजीलो र छोटो दुरीको बाटो बन्द भएपनि अब तीनै तहका सरकारको ध्यान गएकाले यो बाटो पूर्ण रुपमा संचालनमा आउने सांसद केसीले दाबी गर्नुभयो ।

सडकको डिपिआर गर्न मेयर पाण्डेको निर्देशन
यसैविच सडकको अनुगमणमा जानु भएका तुलसीपुर उपमहागनरपालिका प्रमुख घनश्याम पाण्डेले सडकको डिपि आर तयार गर्न निर्देशन दिनुभएको छ । अनुगमणमा सहभागी प्राविधिकको टोलीलाई निर्देशन दिदै प्रमुख पाण्डेले यो सडक संचालनमा आएमा छिल्लीकोट, स्वर्गद्धारी र जलजला पुग्न आन्तरिक तथा बाह्यक पर्यटकलाई अति सहज हुने बताउनुभयो । सडकको स्तर उन्नतिका लागि यसै बर्ष बजेट छुट्याउने प्रमुख पाण्डेले बताउनुभयो ।

३० बर्ष अघि संचालनमा आएपनि केहि समयपछि बन्द भएको सडक नेकपाका नेताहरुको पहलमा पुनः निर्माण कार्य सुरु भएपछि दाङबासी खुशी भएका छन् । तत्कालिन अञ्चलादिशलाई मानपुर बजारमा बस्नकालागि जग्गा नदिएपछि मानपुर बजारदेखि बखरीया हुदै पूर्व–पश्चिम राजमार्ग जोड्ने सडकको आयु समाप्त पार्ने काम भएको सडक निर्माणमा सक्रिय रहेका नेकपाका युवा नेता मनोहर बुढाथोकी बताउनुभयो । अञ्चलाधिश तुलसीपुरमा आएपछि बाख्रेको बाटोको विकल्पमा तुलसीपुर अमिलिया सडक खण्डको निर्माण गरिएको हो ।

३० बर्ष अघि पंञ्चायतकालमा तत्कालिन प्रधान पञ्चले दाङका हजारौ जनतालाई उठाएर जनश्रमदानबाट बाख्रेको बाटो खनाएका थिए । नेपालगन्ज जान पश्चिम दाङबाट घोराही, लमही हुदै अमिलिया आउन लामो दुरी पर्ने भएकाले यो सडकलाई वैपल्पिक मार्गका रुपमा निर्माण गरिएको तीन दशक अघि सडक निर्माणमा सहभागी तुलसीपुर ८ अश्वाराका रोवरसीं विसीले जानकारी दिनुभयो । ‘म २० बर्षको हुँदा सिन्की, आलु र चामल बोकेर दुई रात बसेर बाटो खनेको हुँ,’ विसीले भन्नुभयो–‘ अहिले म ५० बर्ष भए । आफुले श्रम र पसीना बगाएर खनेको पुरानो बाटो फेरी संचालनमा आउदै छ भनेको सुन्दा खुशी लाग्यो ।’

 

प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते शनिवार
प्रतिक्रिया