विभिन्न स्थानमा सवारी दुर्घटना हुदा ४ जनाको मुत्यु,१० जना घाईते

दाङ, ३० बैशाख । देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुदा ४ जनाको ज्यान गएको छ भने १० जना घाईते भएका छन् । कपिलबस्तु, महोत्तरी र रुकुम पश्चिममा सवारी दुर्घटना भएका छन् । कपिलवस्तुको तौलिहवा जितपुर सडक खण्डको निग्लिहवाकोटमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।गएराती जहदीबाट तौलिहवा आउँदै गरेको लु ९ प ४६६४ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलमा सवार मायादेवी गाउँपालिका वडा नं. ७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका वडा नं. ६ का शेषराम यादवको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

यस्तै महोत्तरीमा सोमबार बिहान ट्रक र टिप्पर ठोक्किदा २ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरीको वर्दिवास नगरपालिका ५ माईस्थान चौकमा ट्रक र टिप्पर ठोक्किदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ना ६ ख ३०२० नम्बरको ट्रकमा पश्चिमबाट पूर्व दिशातर्फ गईरहेको बा ५ ख ४२२२ नम्बरको टिप्पर ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा पनि अन्य दुई जना घाईते भएका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

यस्तै रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन । आठविसकोट नगरपालिका वडा नम्बर ८ दाजेबाट वडा नम्बर ९ राडी बजारतर्फ आउँदै गरेको ग १ ज ६०४० नम्बरको जीप वडा नम्बर ७ को साउने खोला नजिकै आइतबार बेलुका दुर्घटना हुँदा ८ जना घाइते भएका हुन । घाइते मध्य ३ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज कर्ण बहादुर विश्वकर्माले जानकारी दिनुभयो । दुर्घटनामा परि घाइते हुनेमा आठविसकोट नगरपालिका वडा नम्बर ८ का २८ वर्षका भुपेन्द्र बोहोरा, त्यही ठाउँका ४० वर्षका प्रजित बुढा,२१ वर्षका दिपक बोहोरा रहनु भएको छ ।

त्यस्तै वडा नम्बर ८ कै ४० वर्षका भिम बहादुर आरसी, २८ वर्षका खिमराज बुडा रहेको प्रहरीले जनाएको छ । यस्तै आठविसकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नबराज बुढा, त्यही ठाउँका १७ वर्षका विशाल बोहोरा र २५ वर्षीय जीपका चालक हरिबहादुर बुढा घाइते हुनु भएको छ । प्रहरीका अनुसार घाइते मध्ये खिमराज बुढा, भिमबहादुर आरसी र गाडी चालक हरिबहादुर बुढाको अबस्था गम्भीर रहेको छ । घाइते भएका आठै जनालाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ । गाडी सडकबाट झन्डै ५ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ३० गते सोमवार
प्रतिक्रिया