चन्द समूहका कार्यकर्तालाइ पक्राउ गर्न दुई राउण्ड हवाई फायर , घटनाप्रति युवासंघको आपत्ती

तुलसीपुर, २७ बैशाख
युवा संगठन रुकुम जिल्ला अध्यक्ष डिल्ली शर्मालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति चन्द समूह निकट युवा संगठन राप्ती ब्युरोले आफनो ध्यानाकर्षण भएको जनाएको छ । भ्रष्टाचार र राष्ट्रघात लगाएतका मुद्दा उठाउदै आएको पार्टीका नेता तथा कार्यकर्तालाई सरकारले खोजीखोजी पक्राउ गरेको भन्दै विज्ञप्ती मार्फत गम्भिर आपत्ती प्रकट गरिएको छ ।

संगठनका राप्ती ब्यरो इन्चार्ज तिलक द्धारा जारी विज्ञप्तीमा रुकुमको चौरजहारीबाट अध्यक्ष शर्मालाई दुई राउण्ड गोली प्रहार गर्दै पक्राउ गरेको भन्दै विना कारण पक्राउ परेका शर्मा लगाएतका नेता तथा कार्याकर्ताको रिहाईको माग गरिएको छ । जनताका न्यायपुर्ण मागहरुलाई सम्बोधन गर्नुको साटो देशैभर धरपकड गर्ने र जवरजस्त देशलाई गृहयुद्धमा धकेल्ने कुचेष्टा देशी विदेशी शक्तिहरुले गरिरहेको विज्ञप्तीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय रुकम पश्चिमका डिएसपी सुमित खड्काका अनुसार शर्मालाई हिजो चौरजहारीबाट पक्राउ गरिएको थियो । पक्राउ गर्ने क्रममा अध्यक्ष शर्मा भागेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको डिएसपी खड्काले बताउनुभयो । शर्मा हिजो मात्र पक्राउ परेका थिए । शर्मासंगै रुकुममा पक्राउ पर्ने चन्द समूहका कार्यकर्ताको संख्या दुई पुगेको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार
प्रतिक्रिया