नेपाल भारतको सिमा नाका तिन दिन बन्द हुने

विरगन्ज , २६ बैशाख । सीमावर्ती भारतीय राज्य बिहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने भएको छ । निर्वाचनका लागि वैशाख २७ गतेदेखि २९ गतेसम्म अर्थात मे १० देखि १२ तारिक सम्म ३ दिन नेपाल भारतको सीमा नाका बन्द हुने भएको हो ।
तीन दिनसम्म देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार नाका र सिर्सिया सुख्खा बन्दरगाह भन्सार नाका पनि बन्द हुनेछ । भारतीय पक्षको आग्रहमा लोकसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर तीन दिन सीमा नाका बन्द गर्न लागिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार विगतमा ४८ घण्टा सीमा बन्द गर्ने गरिएको भए पनि दुवै पक्षको सहमति र समन्वयमा अबदेखि निर्वाचनको समयमा ७२ घण्टा सीमा नाका बन्द हुनेछ ।पर्सा जिल्लाको मात्रै १ सय ७ किलोमिटर भू–भाग भारतको बिहारसँग जोडिएको छ ।त्यसैगरी सीमावर्ती शहरमा प्रशारणमा रहेका मिडियालाई मौन अवधिमा प्रचार प्रसार नगरिदिन पनि भारतीय पक्षले पत्र मार्फत आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

प्रकाशित मिति : २०७६ बैशाख २६ गते बिहिवार
प्रतिक्रिया