चोरी भएको सुन काण्ड : थप रहस्यमय बन्दै

दाङ १६ बैशाख । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ को सागर सुनचाँदी पसलमा कालीगढको रुपमा काम गर्ने सुरजित सरकारको डेराबाट गएको चैत ६ गते हराएको एक सय २० तोला भनिएको सुनको अनुसन्धान थप रहस्यमय बन्दै गएको छ ।
भारत पश्चिम बंगाल घर भई कमलामाई नगरपालिकाको कुमारी मिश्रा खड्काको घरमा डेरा बस्दै आएका सुरजित २० वर्षदेखि त्यही सुनपसलमा काम गर्दै आइरहेका थिए । उनको डेराबाट हराएको सुन एक सय २० तोला नभई ६१ तोला भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले सुन काण्ड सार्वजनिक गर्न सोमबार दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा चोरीमा संलग्न आठ जना मध्ये पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको छ ।
सुन चोरी काण्डमा आठ जनाको संलग्नता रहेको भएपनि मुख्य योजनाकार सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेर डकैती अभियोगमा जिल्ला अदालतमा मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेहरुमा मुख्य योजनाकार कमलामाई नगरपालिका ५ बस्ने २५ वर्षीय विनोदकुमार दियाली, २१ वर्षीय बुद्ध दियाली, १८ वर्षीय प्रदीप दियाली, मोरङ जिल्ला घर भई हाल सिन्धुलीमाढीको सगरमाथा सुनचाँदी पसलमा सुनको कालिगढको रुपमा काम गर्ने १९ वर्षीय सुनिल बराईली र कमलामाई नगरपालिका ७ ठूलीटार बस्ने ३४ वर्षीय हरि खत्री रहेका छन् ।
अदालतबाट अभियोग प्रमाणित भएमा उनीहरुलाई जनही सात वर्षदेखि १४ वर्षसम्म कैद र ७० हजारदेखि एक लाख ४० हजार रुपैयाँसम्म जरिबाना हुने छ ।

प्रकाशित मिति : २०७६ बैशाख १६ गते सोमवार
प्रतिक्रिया