साविक राप्ती अन्चलका ६ जिल्लामा १५ शैयाको अस्पताल बन्ने

तुलसीपुर, १६ बैशाख । सरकारले पाँच बर्ष भित्र देशका सबै स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने भएको छ । निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले सरकारले ७ सय ५३ वटै स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्न लागेको हो ।
पहिलो चरणमा देशका २ सय ५१ स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जानकारी दिनुभयो ।साविक राप्ती अन्चलको ६ वटा जिल्लामा १५ शैयाको स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र निर्माण हुन लागेको हो ।

जसमा दाङको गढवा गाउँपालिकामा स्वास्थ्य चौकी, दंगीशरण गाउँपालिकाको श्रीगाउँमा प्राथमिक स्वास्थ्य केन्द्र, बगलाचुली गाउँपालिकाको कमिरेचौर स्वास्थ्य चौकी र राप्ती गाउँपालिकाको भालुवाङमा १५ शैयाको स्वास्थ्य चौकी निर्माण हुने भएको छ ।
यस्तै प्युठान मल्लरानी गाउपालिकाको खलंगामा प्राथमिक स्वास्थ्य केन्द्र, स्वर्गद्वारी नगरपालिका भीङग्री प्राथमिक स्वास्थ्य केन्द्र, रुकुम पश्चिम त्रिवेणी गाउँपालिकामा मुरु स्वास्थ्य चौकी, रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिकामा कोल प्राथमिक स्वास्थ्य केन्द्र,रोल्पा रुन्टीगढी गाउँपालिकामा होलेरी प्राथमिक स्वास्थ्य केन्द्र,सुवर्णावती गाउपालिकामा सजुलचौर प्राथमिक स्वास्थ्य केन्द्र, सल्यान छत्रेश्वरी गाउँपालिकामा लेखपोखरा प्राथमिक स्वास्थ्य केन्द्र र बागचौर नगरपालिका थारमारे प्राथमिक केन्द्र निर्माण हुने भएको छ ।

जनघनत्व, बहिरङ्ग सेवाको चाँप, अन्य अस्पतालसँगको दुरी र प्राथमिक स्वास्थ्य केन्द्रहरु मध्ये अस्पताल नभएका सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्थालाई १५ शैय्याको अस्पतालमा स्तरोन्नति गर्न आवश्यक देखीएको छ । एउटा अस्पताल निर्माण एवं स्तरोन्नतिको लागि साढे ३ करोड देखि ७ करोड रुपैयाँ सम्म बजेट लाग्ने अनुमान गरीएको राज्यमन्त्री डा.सुरेन्द्र यादवले जानकारी दिएको छन् ।

प्रकाशित मिति : २०७६ बैशाख १६ गते सोमवार
प्रतिक्रिया