अज्ञात रोगका कारण हुम्लामा आठ जनाको मृत्यु

तुलसीपुर, १४ बैशाख ।
अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । अरु १२ जना भन्दा धेरै विरामी विरामी परेका छन । एक सातासम्म फैलिएको अज्ञात रोगका कारण हिजोसम्म मर्नेको सङ्ख्या ८ पुगेको हो । बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिंदै गएको छ ।

रोगबाट ताँजकोट गाउँपालिका मैला, मदान लगायतका गाउँमा दर्जनौं विरामी परेको स्थानीय बासिन्दाहरुले बताएका छन् । एक हप्ताअघि पानी परेसँगै रोग फैलिएपछि मृत्यु हुनेमा सो गाउँपालिका–१ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का छन् ।

वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षकी सुनकेसा सुनार, वडा नं ३ का ७० वर्षीय अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जिव थापा रहेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताउनुभयो । बिरामीहरु टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ ।

ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधी नहुनुका साथै स्वाथ्यकर्मी नबस्दा पनि रोगको पहिचान नभएको र अकालमा ८ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् । स्वास्थ्य चौकीमा प्रर्याप्त मात्रामा औषधी नभएको र स्वाथ्यकर्मी स्वाथ्यचौकीमा नबसेकै कारणले गाउँमा विरामीको सङ्ख्या बढेको गाउँपालिका अध्यक्ष बागदल छत्याल मल्लले बताउनुभयो । मृत्यु हुने सबैको श्वासप्रश्वास र दम सम्बन्धि समस्या रहेको उहाँको भनाई छ ।

अहिले रोग संक्रमित गाउँमा शिविर संचालन भईरहेको र कुनै पनि स्वास्थ्य संस्थाका कर्मचारीलाई कार्यक्षेत्र नछोड्न पनि निर्देशन दिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६ बैशाख १४ गते शनिवार
प्रतिक्रिया