वडा नम्बर ८ मा सतर्कता केन्द्रको आँखा

तुलसीपुर, ५ बैशाख
वडा नम्बर ८ ले सेवाग्राहीसंग बढी रकम लिएको उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले तुलसीपुर उपमहागनरपालिकालाई छानविन गरी प्रतिकृया पठाउन निर्देशन दिएको छ । तुलसीपुर उपमहागनरपालिका–८ मा सामान्य एक पानाको सिफारिस लिदा कर्मचारीले विल भरपाई बिनानै राजश्व भन्दा बढी एक सय रुपैयाँ लिने गरेको उजुरी परेपछि सतर्कता केन्द्रको पत्र उपमहानगरपालिकालाई चैत्र २० गते प्राप्त भएको थियो ।
वडा नम्बर ८ मा सेवा लिदा ठगिएको भन्दै सेवाग्राहीले दिएको उजुरीका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रलाई कारबाही गर्न निर्देशन दिएको थियो । केन्द्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको 03-2019-LGS3VT चलानी नं.को पत्रसंग वडाका विरुद्ध परेको उजुरकिो छायाँकपी पनि संलग्न राखी पठाएको छ । वडामा बसेका लेखनदासले सेवाग्राहीसंग सर्जिमिन मुचुल्का लेखेको एक सय रुपैयाँ देखि पाँच सय रुपैया सम्म चर्को शुल्क लिने गरेको गुनासो आउने गरेको थियो । यद्यपी सुनुवाई भने भएको थिएन ।

यता तुलसीपुर उपमहागनरपालिकाले वास्तविकता बुझेर प्रतिवेदन पेश गर्न सुशासन तथा लेखा समितिलाई निर्देशन दिएको छ । अन्य वडामा पनि बढी दस्तुर लिएकोे हुन सक्ने भन्दै १९ वटै वडामा आठ नम्बर वडाको छायाँकपी सहित पत्राचार समेत गरिएको उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख टंकराज गौतमले जानकारी दिनुभयो । ‘वडाबाट लिखित जवाफ आइसक्यो । समितिको स्थलगत अनुगमण पछि दोषी पाईएमा कारबाही हुन्छ ,’ शाखा प्रमुख गौतमले भन्नुभयो । कुनै पनि सरकारी कार्यालयलयले दस्तुर लिएमा अनिबार्य रुपमा रसिद दिनुपर्ने र कानुन वमोजीम घटी या बढी दस्तुर लिएमा त्यो अबैध वा गैरकानुनी मानिन्छ । वडा कार्यालयले कानुन भन्दा बढी दस्तुर नलिएको लिखित जवाफ बुधबार उपमहानगरपालिकालाई पठाएको शाखा प्रमुख गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६ बैशाख ५ गते बिहिवार
प्रतिक्रिया