तुलसीपुर मालपोतमा अनलाइन सेवा सुरु

तुलसीपुर, ४ बैशाख 

मालपोत कार्यालय तुलसीपुरले राप्तीमा पहिलोपटक अनलाइन सेवा सुरु गरेको छ । अनलाइन सेवामा प्रवेश गरेसंगै अव विस्तारै हस्त लिखित र परमपराकालदेखि ढड्डा पल्टाउने कार्यको अन्त्य हुने कार्यालयले बताएको छ । यो सेवा सुरु भएपछि व्यक्तिको सम्पतीको सुरक्षा, जग्गाको कारोबार, खरिदविक्री जस्ता गतिविधिको अभिलेखिकरण हुने भएकाले राजश्व छलिको पनि अन्त्य हुने कार्यालय प्रमुख नरेश खड्काले जानकारी दिनुभयो ।
त्यस्तै विगतमा जालसाँचि गरी विभिन्न स्थानमा एउटाको जग्गा अर्कैले विक्री गरेको घटना सार्वजनिक भएका बेला कसैले यस्तो कार्य गर्न खोजेमा व्यक्तिको मोबाईलमा जग्गा विक्री हुदै छ भन्ने म्यासेज आउने भएकाले सम्पतीको सुरक्षा हुने कार्यालय प्रमुख खड्काले दाबी गर्नुभयो । त्यसका लागि सेवा ग्राहीले एक पटक अनलाइन मार्फत सेवा लिएको हुनुपर्नेछ । एक पटक अनलाईनमा बायोडाटा इन्ट्री गरेपछि कागजपत्र बोकीरहनु नपर्ने , घरमा बसेर अनलाई प्रणाली मार्फत फारम भरेर मालपोत कार्यालयमा पुर्जा दिन एकैपटक गएपनि हुने लेखापढी कानुन व्यवसायीको आवश्यक नपर्ने हुँदा आर्थिक रकमको पनि बचत हुने कार्यालयले बताएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार
प्रतिक्रिया