कोईलाखानी टोलमा काठका पोल विस्थापित ,वडामा अझै डेढ सय फलामका पोल आबश्यक

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, ३ बैशाख । दाङ तुलसीपुर ४ कोईलाखानी भेरीखोर टोलमा काठका पोलहरु विस्थापित गरिएको छ । विद्युत लाईनमा प्रयोग गरिएका काठ पोलहरु जिर्ण बन्दै गएपछि अहिले त्यस बस्तीमा फलामका पोलहरु प्रयोग गरिएको छ । वषौदेखीका काठका पोलहरु जिर्ण हुदै गएपछि भाचिने र विद्युत सेवा अवरुद्ध हुने समस्या थियो । अहिले काठका पोलहरु विस्थापित गरी फलामका पोलहरु प्रयोग गरिएपछि उक्त समस्या हटेको भन्दै स्थानिय खुसी भएका छन् ।

टोल विकास संस्थाको पहल तथा वडा कार्यालयको सिफारिस र नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको समन्वयमा फलामका पोलहरु प्रयोग गरिएको टोल विकास संस्थाका अध्यक्ष धनसिंह पुनले जानकारी दिएका छन् ।भेरीखोर, सिस्नेकुटी, सिमलखोरिया, माथिल्नो तरुले गाउँमा अहिले काठका पोलहरु फेरिएको छ ।उक्त टोलमा तिन दर्जन भन्दा वढि काठका पोलहरु विस्थापित गरी फलामका पोलहरु प्रयोग गरीएको अध्यक्ष पुनले जानकारी दिएका छन् ।

उनका अनुसार उक्त क्षेत्रमा ७÷८ वटा काठ पोलहरु अझै बाँकी रहेको भन्दै ती पोललाई विस्थापीत गरेमा काठका पोल मुक्त टोल हुनेछ ।यस्तै वडाका अन्य धेरै स्थानमा काठका पोलहरु प्रयोग गरिएको छ । यता वडा अध्यक्ष बालकृष्ण रानाका अनुसार वडाका खाद्रे, बायोखोला, खुमखानी,मुल्कोट, सिरगैरा लामीदमार, झारगाउँ लगाएतका थुप्रै गाउँमा अझै पनि काठका पोल प्रयोग गरिएका छन् ।

ती काठका पोलहरु पनि जिर्ण अवस्थामा रहेको भन्दै झन्डै डेढ सय थान फलामका पोल आबश्यक रहेको उनले बताएका छन् । ती काठका पोलहरु विस्थापीत गरी फलामका पोल प्रयोग गर्न सकेमा वडालाई काठको पोल मुक्त गर्न सकिने छ ।तुलसीपुर उपमहानगरको १९ वटै वडा मध्ये ४ नम्वर वडा विकट भएको भन्दै सिमेन्ट पोल लैजान समस्या भएकाले अधिकांस गाउँमा काठका पोलहरु प्रयोग गरिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ३ गते मङ्गलवार
प्रतिक्रिया