६२औं राष्ट्रिय सहकारी दिवस: रक्तदान देखि गौ सेवा सम्म

नारायण भण्डारी, तुलसीपुर, १४ चैत ।

६२ औं राष्ट्रिय सहकारी दिवस दाङमा विभिन्न कार्यक्रम गरी एक हप्ता सम्म मनाइने भएको छ । जिल्ला सहकारी संघको आयोजनामा दश वटै पालिकाहरुमा विभिन्न कार्यक्रम गरिने भएको हो । रक्तदान देखि गौ सेवा सम्मका कार्यक्रम गरिने संघका अध्यक्ष गोविन्द प्रसाद शर्माले जानकारी दिए । संघले बिहिबार घोराहीमा पत्रकार सम्मेलन गरी दिवसका अवसरमा एक हप्ता सम्म विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

शुक्रबार विहान ८ बजे घोराही तेरौटेको बृद्धाश्रमका जेष्ठ नागरिकलाई उपभोग्य वस्तु बितरण गरिने संघले जनाएको छ । यस्तै मध्यान्ह १२ बजे तुलसीपुर उपमहानगरपालिकाको हलमा दीगो विकास लक्ष प्राप्तीकालागि सहकारी विषयक निवन्ध प्रतियोगिता गरिने संघका सचिव शुक्रराज भण्डारीले जानकारी दिए । संघले १६ गते शनिबार लमही नगरपालिकाको रिहारमा रहेका गाईको सेवा गर्ने जनाएको छ ।

सहकारी अभियान्ताहरुको सहभागितामा गाईलाई घाँस, दाना, पानी खुवाउने, गोवर सोत्तर गर्ने सचिव भण्डारीले जानकारी दिए । यस्तै संघले १७ गते घोराहीमा रक्तदान गर्ने, १८ गते घोराहीमा नै दिगो विकास लक्ष प्राप्तीकालागि सहकारी बिषयक वक्तृत्वकला प्रतियोगिता गर्ने र १९ गते हाजिरिजवाफ प्रतियोगिता गर्ने उपाध्यक्ष अञ्जन कुमार पौडेलले जानकारी दिए । यस्तै २० गते जिल्लाका दशवटै पालिकाहरुमा झाँकी सहितको ¥याली र सभा गरी दिवसको समापन गरिने छ ।

यसैबीच जिल्ला संघले निर्धारण गरेका कार्यक्रमहरुलाई सफल बनाउने तुलसीपुरमा जिम्वेवारी बाँडफाँड गरिएको छ । संघका सचिव शुक्रराज भण्डारीको अध्यक्षतामा बिहिबार बसेको बैठकले सहकारी दिवसका अवसरमा आयोजना गरिने सप्ताव्यापी कार्यक्रमलाई सफल बनाउन जिम्वेवारी बाँडफाँड गरेको हो ।

प्रकाशित मिति : २०७५ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया