आज विश्व पानी दिवस मनाईदै

तुलसीपुर,८ चैत ।

आज विश्व पानी दिवस, विभिन्न कार्यक्रम गरेर मनाईदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले मार्च २२ तारिखलाई विश्व पानी दिवसको रुपमा घोषणा गरेयता हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । जलश्रोत र उर्जा एक अर्कामा निर्भर रहेकाले यिनीहरुको अन्तरसम्बन्धका विषयमा जनचेतना जगाउन दिवसका अवसरमा विभिन्न कार्यक्रम हुँदैछन् ।

उर्जाका सबै स्वरुपको उत्पादनका लागि पानी अत्यावश्यक पर्ने तथा पानीको निकास, उपचार र वितरणको सबै चरणमा उर्जा आवश्यक हुने भएकाले यी दुईलाई अलग गरेर हेर्न नहुनेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ । विश्वभर बढ्दो जनसंख्यासंगै आउँदा दिनमा स्वच्छ पानी र उर्जाको माग विश्वभर अझै बढ्दै जाने र यो वृद्धिले सबै क्षेत्रमा ठूलो चुनौती निम्त्याउन सक्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

राष्ट्रसंघका अनुसार विश्वभर १ अर्ब ३० करोड मानिस विजुलीको पहुँचमा छैनन् भने ७६ करोड भन्दा बढी मानिसले पानीको सुधारिएको श्रोतको उपयोग गर्न पाएका छैनन् । नेपालमा काठमाडौ उपत्यका लगायत शहरी क्षेत्रका बासिन्दाले पानीको निकै अभाव खेप्नुपरेको छ । त्यस्तै ग्रामिण भेगमा पनि पानीको अभाव बढिरहेको छ । यस वर्षबाट देशका ८८ प्रतिशत नागरिक पानीको पहुँचमा पुगेका सरकारले दाबी गरेको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया