एउटै कक्षामा ५ निरीक्षक, परीक्षा हलमा फोटो सेसन

तुलसीपुर,४ चैत्र 

सामान्यतयाः एउटा कक्षामा कति जना निरिक्षक हुन्छन् ? जतिसुकै ठूलो स्तरको भएपनि १ या २ जना । तर तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को नगर स्तरिय परीक्षामा ५ जना निरिक्षक एकै कोठामा निरिक्षण गरिरहेको तस्विर सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको छ । विद्यार्थीमा रहेको परीक्षाको त्रास हटाउन, अनियमितता नगर्न र उनीहरुलाई आवश्यक सामग्री उपलब्ध गराउनका लागि व्यवस्था गरिएका निरीक्षकहरु एकै कोठामा पाँच जना हुँदा विद्यार्थीलाई कस्तो असर पर्ला ? सहजै अनुमान लगाउन सकिन्छ ।
परीक्षा चलिरहेका बेला परीक्षा हलभित्रै तुलसीपुर उपमहानगरपालिका शिक्षा समिति संयोजक देवराज विश्वकर्मा,सदस्य दिपक कुमाल, नेपाल शिक्षक संघका प्रदेश सचिव भागवत पौडेल, लगायतका व्यक्तिहरु तस्वीरमा रहेको देखिन्छ । विद्यार्थीहरुलाई अनुगमनका लागि गएका उनीहरुले पोज दिएर फोटो खिँचेको देखिन्छ । “विद्यार्थीलाई अनुगमन गरेको हो कि फोटो सेसन गरेको हो वुझ्न सकिएन ” एक अभिभावकले भने ।


कक्षामा आएर फेसवुकमा राख्नका लागि तस्विर खिच्दा आफुहरुलाई लेख्न असर गर्ने गरेको एक विद्यार्थीले वताए । “कक्षामा आएर कस्तरी राम्रो फोटो आउँछ भनेर पोज मिलाई मिलाई खिच्नुहुन्छ अनि अफ्ठेरो भइहाल्छ नि ” उनले थपे । विद्यार्थीहरुलाई शान्त वातावरणमा परीक्षामा समावेश गर्नुको साटो उनीहरुलाई मानसिक दवाव दिने गरिएको पाइएको छ । शिक्षा समितिले वनाएको अनुगमन समितिका सदस्यहरुले जथाभावी रुपमा तस्विर मोहका कारण विद्यार्थीहरुलाई परीक्षामा अवरोध परेपछि अहिले सामाजिक सञ्जालमा समेत यसको विरोध हुन थालेको छ ।
विद्यार्थीहरुलाई कक्षाकोठामा मोवाइल लैजान नपाइने भन्ने अनि आफैले लगेर फोटो खिच्नुले विद्यार्थीमा मानसिक असर पर्ने पूर्व प्रधानाध्यापक माधव प्रसाद लामिछानेले बताउनुभयो । लामो समय केन्द्राध्यक्षको अनुभव समेत सम्हालेका लामिछानेले विद्यार्थीलाई उपयुक्त वातावरण मिलाइदिनेले आफै वातावरण विगार्न नहुन तर्क गर्नुहुन्छ ।
कार्यविधि मिचेर अनुगमन समिति
तुलसीपुर उपमहानगरपालिकाले आधारभुत तह उत्तीर्ण परीक्षा कार्यविधि २०७४ ले तोकेका नभएर वाहिरका क्षेत्रका व्यक्ति समेत अनुगमन समितिमा रहेका छन् । ‘भत्ताको लोभमा जथाभावी अनुगमनमा गएको देखिन्छ, यसरी कार्यविधि नै मिच्न कहाँ पाइन्छ ?’ एक अभिभावकले भने । कार्यविधिले सामाजिक विकास समितिका संयोजकलाई अनुगमन समितिको सदस्य तोकेको भएपनि आफुलाई जानकारी नदिएको संयोजक तथा १० नम्बर वडाध्यक्ष कुमार लामिछानेले वताउनुभयो । औपचारिक रुपमा आफुलाई कुनै जानकारी नआएको वताउदै । ‘मनलाग्ने हिसावले अनुगमन गरेको र तोकिएका मान्छेहरुलाई वास्ता नगरिएको लामिछानेले गुनासो गर्नुभयो ।

अनुगमन कर्ताले डिस्टर्व गरेः परीक्षार्थी
अनुगमनकर्ताले भत्ता सहितको आफ्नो घुम्ने पालो पु¥याएर दायित्व पुरा गरे पनि परीक्षार्थी र अभिभावकले यसलाई उत्ताउलोपन भनेका छन् । नर्सरीदेखि कक्षा आठसम्मको दौरानमा कहिल्यै अनुहार नदेखेका मान्छेहरु घरीघरी परीक्षा चलीरहेका बेला कोठाभित्र पस्दा परीक्षार्थीले डिस्टर्व भएको बताएका छन् । एकोहोरोरुपमा परीक्षामा बसेर विषय अनुसारको उत्तरपुस्तिकामा उत्तर लेखिरहेका बेला अनुगमनका नाममा गएका नचिनेका मान्छेहरुले सोधपुछ गर्ने, उठाउने , चेकजाँच गर्ने लगायतका कामले परीक्षालाई मर्या्दित र शान्त पार्नु भन्दा पनि अमर्या्दित काम गर्ने गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । विशिष्ट व्यक्ति भन्नेहरु हुल बाँधेर जाने गरेको उनीहरुले बताए ।

‘परीक्षा दिइरहेका हुन्छौ एकदमै ठूलो मान्छे बनेर आएका अनुगमनकर्ताहरु के छ नानी यहाँ, भनेर कापी पल्टाउने , प्रवेश पत्र हेर्ने र अलमल्याउने काम गर्छन्’, गुरुजजर माविमा परीक्षा दिएर फर्किदै गरेकी एक छात्राले भनिन् । निरिक्षकले कक्षामा हेर्ने मात्रै तर वोल्न नहुने तर्क राख्नुहुन्छ विद्यालय निरिक्षक मुकुन्द रिजाल । नयाँ अनुहार देख्दा विद्यार्थीहरुमा मनोवैज्ञानिक त्रास हुने भएकाले सकभर झ्याल या ढोकाबाट मात्रै हेर्नुपर्ने रिजालले वताउनुभयो । ‘ निरिक्षकले विद्यार्थीहरुलाई उत्प्रेरणा दिने काम गर्नुपर्दछ तर हामी कहाँ डराउन दिने मात्रै काम भएको छ ’ रिजालले भन्नुभयो ।
यता अभिभावकहरुले अनुगमनको शैलीले परीक्षालाई मयादित नबनाउने बताएका छन् । वर्षदिनको पढाईमा एक पटक पनि कक्षा नकुच्ने व्यक्तिहरु परीक्षामा सुटेटबुटेट भएर जानु राम्रो काम नभएको नरबहादुर डाँगीले बताउनुभयो ।

 

प्रकाशित मिति : २०७५ चैत्र ४ गते सोमवार
प्रतिक्रिया