दाङमा बालविवाह गर्ने युवकका विरुद्ध करणीको मुद्दा

तुलसीपुर,१ चैत ।
पश्चिम दाङमा उमेर नपुगेकी किशोरीलाई विहे गर्ने एक युवकलाई प्रहरीले जवरजस्ती करणी सम्बन्धी मुद्दा चलाएको छ । दाङमा यो पहिलो घटना हो । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका –७ सानो तुलसीपुर निबासी २७ बर्षका टेकबहादुर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले गत २६ गते पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । किशोरीका आफन्तले गत २२ गते जवरजस्ती करणी गरेको आरोप लगाउदै प्रहरीमा जाहेरी दिएका छन । प्रहरीले पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १७३ को बाल विवाह गर्न नहुने महलको उपदफा (१) मा बीस बर्ष उमेर नपुगीे विवाह गरेमा विवाह बदर हुने देखी कसूर गर्ने व्यक्तिलाई तीन बर्ष सम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । अपराध संहिता ऐन २०७४ मो मञ्जुरी लिएर भएपनि १८ बर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा नीजले त्यस्तो महिला वा बालिकालाई करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ ।

वलीले गत माघ १३ गते १६ बर्षकी किशोरीलाई भगाएर ल्याएका थिए । माइतीको आग्रहलाई सहज रुपमा स्वीकार नगरेका कारण विवाहले जवरजस्ती करणीको रुप लिएको शान्तिनगर गाउँपालिका–७ का वडाध्यक्ष पिमलाल वलीले बताउनुभयो । ‘केटीका बुबा आएर आउनेजाने खर्च दिनुस म छोरी लैजान्छु जे हुनेहो भइगो भने,’ वडाध्यक्ष वलीले भन्नुभयो–‘ घरमा पनि श्रीमती भएकाले दाङ जस्तो ठाउँमा सौतामा मेरी छोरी बस्न सक्दैन त्यसैले लैजान्छु भन्दै थिए ।

केटाले खासै मतलव गरेन । हामीले भने अनुसार आउनेजाने सामान्य खर्च दिएर पठाएको भए यस्तो हुने थिएन ।’अध्यक्षका अनुसार किशोरी भगाएर ल्याएका वली लुक्दै बस्दै गर्दै आएका थिए । यता अधिबक्ता रामशरण चौधरीले विवाह गरेको प्रमाण (फोटो) भएमा प्रहरीले जवरजस्ती करणीको मुद्दा चलाए पनि बालविवाह अन्र्गत हुने र यदि प्रमाण नभएमा करणी सम्बन्धी मुद्दा चल्ने बताउनुभयो ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को जवरजस्ती करणी गर्न नहुने महल अन्र्तगत २१९ को उपदफा (३) घमा सोह्र बर्ष देखि माथि अठार बर्षसम्मको बालिकालाई जवरजस्ती करणी गरेमा दश बर्ष देखि बाह्र बर्ष सम्म कैद हुने व्यवस्था छ ।

प्रकाशित मिति : २०७५ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया