व्यवस्था फेरियो, अवस्था फेरिएन

सुधासुमन ढकाल
संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभुति नहोस् भन्नका लागी अन्तर्राष्ट्रिय रुपमा महिला दिवस मनाउन सुरु भएको १०८ वर्ष पुरा भएको अवसरमा शुक्रबार १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । विश्वका धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि महिला र पुरुष बिच ठुलो बिभेदको अवस्था छ । यँहाको सामाजिक,आर्थिक, शैक्षिक,राजनितिक,प्रसाशनिक लगायतका सबै क्षेत्रमा पुरूषको तुलनामा महिलाको पँहुच ज्यादै न्यून रहेको छ । नेपालमा कुल जनसङ्ख्याको आधा भन्दा बढी हिस्सा ओगटेका महिलाहरू राज्यका हरेक पक्षमा पिछडिएका छन् । परम्परागत रूपमा जातपातको भेदभाव, चाँडो विबाह, छोराको महत्व जस्ता मान्यता जस्ता कारणले महिलाको स्तर विकास हुन सकेको छैन । लैगिक भिन्नताका कारण लैंगिक असमानता, साधन र स्रोतको अवसर आदिका कमिका कारण महिलाहरूको स्तर निकै पछाडी छ । यो बिचमा महिला अधिकारका सवालमा विभिन्न निति नियमहरु निर्माण भए, विभिन्न व्यवस्थाहरु फेरिए तापनि आशातित रुपमा महिलाको अवस्था भने फेरिएको अनुभुति गर्न सकिएको छैन । सतहि रुपमा महिलाहरु अधिकार सम्पन्न भए पनि तल्लो स्तर सम्म रहेका महिलाहरुले आफुहरु अधिकार सम्पन्न भएको महशुस गर्न सकेका छैनन् । झट्ट हेर्दा महिलाहरु राष्ट्रपति भए, प्रधानन्यायाधिस भए, सभामुख भए , तर २/४ जना महिलाहरुले ठुला पदमा पुग्दा जसरी आम महिलाहरु पनि अधिकार सम्पन्न हुनुपर्ने हो त्यसरी हुन सकेका छैनन् जसका पछाडि विभिन्न कारणहरु छन ।

नयाँ संविधानमा महिला अधिकारका सवालहरुलाई स्पष्ट रुपमा उठाइएको छ तर बिडम्बना ति सवालहरुलाई कार्यान्वयन गर्नका लागी आवश्यक कानुन निर्माण हुन सकेका छैनन् । महिलाहरुलाई अधिकार सम्पन्न गराउनका लागी संविधानमा उल्लेख भएका हकहरु कार्यान्वयका लागी कानुन निर्माण गर्नुपर्छ, कानुन कार्यान्वयनका लागी निर्देशन गर्नुपर्छ, लक्षित वर्गलाई आफ्नो अधिकारका बारेमा बोध हुनु पर्छ । अनि मात्र महिलाहरुलाई केहि हद सम्म अघि बढाउन सजिलो हुन्छ । तर पछिल्लो समय महिला अधिकारका विषयमा ओकालत गर्ने महिला अधिकारकर्मिहरु माथी नै प्रश्न चिन्ह खडा भएको छ । केहि महिला अधिकारकर्मिहरु कान्छि श्रीमति भएर गएको र महिला हिंसाका क्रियाकलापमा सहभागीहरुले नै कसरी महिला अधिकारका सवालहरुलाई जोडदार रुपमा उठाउन सक्छन ? सभा समारोहमा मिठा मिठा भाषण गर्ने, समानताका कुरा उठाउने तर घरमा गएर छोरा र छोरी माथी विभेद गर्ने आमाहरु पनि हाम्रो समाजमा प्रशस्त नै छन् । आफु नारी भएर पनि नारीलाई गर्ने दुव्र्यवहार गर्ने महिलाहरुकै कारण महिला हिंसाका घटनामा बृद्धि भएको छ । कार्यक्रमहरुमा महिला अधिकारका विषयमा जोशिला भाषण गर्ने पुरुषहरु घरमा कुन हद सम्म गिरेर महिलाहरुलाई हिंसा गर्छन भन्ने कुरा हामी अनुमान समेत गर्न सक्दैनौ । महिलाहरुले पुरुषका तुलनामा घर व्यवहारका कामको जिम्मेवारी संगै बाहिरको काममा पनि बराबर भुमिका निर्वाह गरिरहँदा पनि समाजमा विभेद सहन बाध्य छन् ।

समान पदमा रहेर संगै काम गरेर घर फर्किने बित्तिकै श्रीमान चाहिँ सोफामा बसेर टिभि हेरेर बस्छ भने श्रीमति चाहिँ हतार हतार कपडा फेरेर भान्छाको काममा लाग्छिन् । झट्ट हेर्दा यो कुरा हामीलाई सामान्य लाग्न सक्छ तर यो पनि लैंगिक विभेदको एक ज्वलन्त उदाहरण हो । कतिपय महिलाहरुलाई त आफु हिंसामा परेको कुरा पनि थाहा हुँदैन । त्यसका लागी दिवसका अवसरमा सहर केन्द्रित ¥याली, सभा , गोष्ठी गरेर मात्र हुँदैन यी यस्ता कार्यक्रमहरुलाई जनचेतनामुलक बनाउदै तल्लो तहमा रहेका महिलाहरु समक्ष लैजान आवश्यक छ । महिला र पुरुष प्रतिष्पर्धिका रुपमा नभई सहकर्मिका रुपमा रहि अघि बढ्न जरुरी छ । महिला दिवसका अवसरमा गरिने कार्यक्रमहरुबाट कतिपय महिलाहरुमा पुरुषप्रति नकारात्मक सोचको विकास भएको पनि देखिन्छ , साथसाथै पुरुषहरुमा महिलाहरुले आफ्नो भाग नै खोज्न आउने हुन की भन्ने डर उत्पन्न भएको महसुस गरिरहेका हुन्छन् जसले गर्दा एक अर्का बिच दुरी झनै बढेर जान्छ । जसले गर्दा विभेदपुर्ण समाज निर्माणमा जटिलता उत्पन्न हुन्छ । एक जना महिला शिक्षित भईन भने पुरै घर नै शिक्षित हुन्छ, बालबालीको पहिलो पाठशाला घर भएसंगै पहिलो गुरुआमा पनि स्वभाविकै रुपमा आमा नै हुन त्यसैले समुन्नत समाज निर्माणका लागी देशलाई सम्बृद्ध बनाउनका लागी महिला शिक्षित हुन आवश्यक छ । शिक्षा संगसंगै महिलालाई हिंसाबाट बचाउनका लागी उनिहरुलाई आर्थिक आयआर्जनमा लगाउन आवश्यक छ । यसो लेखिरहँदा माथिल्लो वर्गका घरका महिलाहरु पनि पिडित भएका धेरै समाचारहरु सुनीएको अनि पढिएको छ । विगत केहि वर्षयता राजनैतिक चेतनाको विकाससंगै महिलाहरुले पनि घरबाहिर निस्केर काम गर्न थालेको देख्न सकिन्छ । कानुनले नै महिलाहरूका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । उत्पीडन, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्ग आदि महिलाका लागि निर्वाचनमा थप आरक्षणको व्यवस्था गरिएको छ । महिलाका नाममा घरजग्गा पास गर्दा कम राजश्व तिरे हुने व्यवस्था गरिएको छ । यसले महिलामा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक चेतनाको विकास गर्न सहयोग गरेको छ । महिला हिंसा विरुद्धका थुप्रै कानुनहरू बनेका छन् । महिला हिंसा कम गर्न महिलाप्रतिको शोषण, उत्पीडन, हिंसा, अत्याचार, दुव्र्यवहार अन्त्यका निमित्त थुप्रै कानुन बनेका छन् । यति हुँदा पनि नेपालमा महिलामाथि हुने हिंसाका विभिन्न स्वरूपहरू छन् । बहुविवाह, बाल विवाह, दाइजो प्रथा, कुटपिट, सम्बन्ध विच्छेद, गालीगलौज, अपहेलना, यातना, तिरस्कार, बोक्सीको आरोप, जबर्जस्ती करणी, वैवाहिक करणी, विधवा प्रथा, घुम्टो प्रथा, अनमेल विवाह, छाउपडी प्रथा, वादी प्रथा, देउकी प्रथा आदि महिला हिंसाका केही रूप हुन् ।

नेपालको सन्दर्भमा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा महिलामाथि हिंसा रहेको पाइन्छ । हिमाल, पहाडदेखि तराई–मधेससम्म, उच्च घरानादेखि सुकुम्बासी झुपडीसम्म, राजनीतिज्ञदेखि मतदातासम्म जहासुकै र जोसुकैबाट तथा जतिबेला पनि महिलाहरु हिंसामा परेका छन् । आधुनिक समाजको विकास संगै महिला माथी हुने हिंसामा कमि आउनुको सट्टा हिंसाका प्रकृतिमा मात्र परिवर्तन भएको छ । पुरातनबादी सोच र पुरुषबादी मानासिकतामा शुद्धिकरण नभए सम्म नारी मुक्ति असम्भव जस्तै छ । महिला माथि हुने यातना, हिंसा, बालिका भ्रुण हत्या, बलात्कार, बाल विवाह, बहुविवाह, अपहरण, तस्करी, बेचविखन, महिलाहरूमा आइपर्ने कठिनाइबारे चेतना जगाउन, महिला मानव अधिकारलाई विश्व व्यापी बनाउन, महिलाहरूप्रति गरिने सबै प्रकारका भेदभाव अन्त्य गर्नका लागि संयुक्त राष्ट्र सङ्घीय महासभाद्धारा महिला विरुद्ध भेदभाव उन्मुलन महासन्धि पारित गरिएको छ । तर यसले मात्र समस्याको समाधान गर्न सक्दैन । पुरातनबादी सोचमा परिवर्तन र पुरुषबादी मानासिकतामा शुद्धिकरण हुनसके मात्र समानताको व्यवहार देख्न सकिन्छ । यसो भनिरहँदा केहि हद सम्म हामी महिलाहरुमा परिवर्तनको आवश्यकता छ । आफ्नो वरपरका महिलाहरु अघि बढ्न लाग्दा उनिहरुलाई हौसला प्रदान गर्नुका सट्टा उल्टै कुरा काट्ने , उनिहरुलाई निरुत्साहित पार्ने काम पनि भईरहेका छन् । त्यसैले जहिले सम्म हामी महिलाहरु नै स्वयम् सक्षम हुन सक्दैनौं , एक जुट हुन सक्दैनौं तब सम्म महिला अधिकार सुनिश्चितताको सवाल केबल दिवसका दिनमा भाषणको विषयवस्तु मात्र बनिरहने छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते आइतवार
प्रतिक्रिया