डोजर लगाएर हटायो ट्राफिकले वीरेन्द्र चोकमा गाडी

तुलसीपुर २० फागुन

ट्राफिक कार्यालय तुलसीपुरले विगत तीनदिनदेखि वेवारिसे अवस्थामा सल्यान रोडमा रहेको डबल क्याप गाडी हटाएको छ । बिच सडकमा विग्रीएको अवस्थामा रहेको गाडीका कारण संभावित दुर्घटनाको खतरा रहेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेम शाहीको निर्देशनमा ट्राफिकले त्यहाँबाट हटाएको हो । गाडीको दायाँ तर्फको टायर झिकीएको र जग लगाएर अड्याएको अवस्थामा गाडीधनीले गाडी छोडेर हिडेका थिए । वीरेन्द्र चोक नजिकै बिच सडकमा रहेको गाडीलाई स्काभेटरको सहायताले करिब एक किलोमिटर दक्षिणमा रहेको ट्राफिक प्रहरीको कार्यालयमा लगेर राखीएको छ ।

‘ गाडी आकाश भण्डारीको रहेछ ,’ ट्राफिक प्रमुख चन्द्र केसीले भने–‘हामीले बोलाएर भन्यौ कहिले सामान लिन बुटवल, कहिले नेपालगञ्ज र कहिले घोराही छु आउँछु भन्नुभयो । नआएपछि स्काभेटर लगाएर कार्यालयमा ल्याएर राखेका छौ ।’ ट्राफिक प्रमुख केसीले गाडीको भित्र रा१च ५६५ लेखेको नम्बर प्लेट भएकाले नम्बर पनि त्यही हुन सक्ने बताए । गाडीको अगाडी पछाडी देखिने गरी नम्बर प्लेट राख्नु पर्ने भएपनि सो गाडीको दुबै तर्फ नम्बर प्लेट राखीएको छैन ।

प्रकाशित मिति : २०७५ फाल्गुन २० गते सोमवार
प्रतिक्रिया