आज महाशिवरात्री दाङ सहित देशभर मनाईदै

दाङ, २० फागुण । आज महाशिवरात्रि पर्व,आराध्यदेव भगवान शिवको पूजाआजा गरी मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् ।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेख छ ।फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।शिवरात्रीको अवसरमा दाङको पाण्डबेश्वर मन्दिर धारापानी धाम,सिद्देस्वर मन्दिर शितलपुर, देउखुरीको राप्ती गाउँपालिका ५ पहरुवा स्थित शिवसवरीधाम लगाएत शिवालय मन्दिरमा आज मेला लाग्ने गर्दछ ।

यस्तै उता काठमाडौको श्रीपशुपतिनाथ मन्दिरमा विशेष मेला लागेको छ । शिवपुरी पर्वतबाट बगीआउने पवित्र वाग्मती नदीमा स्नान गरी देवाधि देव भगवान पशुपतिनाथको ज्योर्ति्लिङमा पूजाअर्चना गर्नेको आज ठूलो भीड लागेको छ । यस्तै महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जाने भक्तजनको सुविधाका लागि आज विहानै देखी त्यस क्षेत्रमा सवारी आवागमन निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिनाथ क्षेत्र प्रवेशका १० स्थानमा सवारी आवागमन निषेध गरिएको जनाएको छ । नियमितरूपमा सञ्चालन हुने सवारी रुटमा समेत परिवर्तन गरी बैकल्पिक व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन २० गते सोमवार
प्रतिक्रिया