सवारी दुर्घटना न्यूनीकरण गर्न ४८ हजार यातायात मजदुरलाई प्रशिक्षण दिईने

दाङ, १२ फागुण । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार यातायात मजदुरहरुलाई प्रशिक्षण दिने भएको छ ।पछिल्लो समयमा देशभर बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न यस्तो अभियान सन्चालन गर्ने योजनामा लागेको सङ्गठनका अध्यक्ष भीमज्वाला राईले बताएका छन् ।
मुलुकमा दैनिक ७÷८ जना मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको भन्दै सवारी चालक तथा सहचालकहरुलाई ट्राफिक सचेतनाका लागी यस्तो अभियान सञ्चालन गर्न लागीएको अध्यक्ष राईले जानकारी दिएका छन् । अध्यक्ष राईका अनुसार सङ्गठनले सवारी ‘दुर्घटना न्यूनीकरण सम्भव छ’ भन्ने नारासहित देशभर रहेका मजदूर सङ्गठन मध्ये प्रत्येक महिना एक पटक न्यूनतम २० जना चालक तथा सहचालकलाई सहभागी गराई उनीहरुलाई ट्राफिक नियमको बारेमा प्रशिक्षण दिईने छ ।

अभियान अन्तर्गत सङ्गठनले ‘म जिम्मेवार यातायात मजदूर’ भन्ने स्टिकर निर्माण गरी सबै सार्वजनिक यातायातमा टाँस्ने भएको छ । स्टिकरमा मादक पदार्थ सेवन गरी सवारी चलाउँदिन, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्दिनँ, महिला, बालबालिका तथा अशक्तलाई सम्मान गर्छु, बालश्रम प्रयोग गर्दिनँ, तीव्र गतिमा सवारी चलाउँदिन, तोकिएको भन्दा बढी भाडा लिन्नँ, सधैँ ट्राफिक नियमको पालना गर्छु जस्ता सन्देशमुलक शब्दहरु प्रयोग गरिएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन १२ गते आइतवार
प्रतिक्रिया