फ्रिजको मासु खोज्दैनन उपभोक्ता !

ओपेन्द्र बस्नेत
तुलसीपुर, ९ फागुन / फ्रिजमा राखेको मासु खोज्नेको संख्या दाङमा मुस्कीलले ५ प्रतिशत रहेको पाइएको छ । ‘महिनामा एक दुई जना मात्रै झुक्किएर फ्रिजमा राखेको मासु खोज्नआउँछन,’– रोल्पाली डाँगी कुखुरा पसलका निमबहादुर डाँगीले भने,– ‘अधिकांसले बाहिर राखेको मासु खोज्छन् ।’ फ्रिजमा राखेको मासु पठाउँदा बासी भन्दै फिर्ता आएको स्मरण गर्दै डाँगीले विदेश र बाहिर बसेकाले मात्रै फ्रिजमा राखेको मासु खोज्ने गरेको बताउनुभयो । जनचेतनाको कमीका कारण फ्रिजमा राखेको मासु खोज्नेको संख्या नगन्य मात्रामा रहेको व्यवसायीले बताएका छन् ।
फ्रिजमा राखेको मासु दिदा बासी भन्दै स्टलमा छोपेर राखेको मासुलाई ताजा भन्दै सेवाग्राहीले लग्ने गरेको उनिहरुले बताएका छन् । उपयुक्त तापक्रममा मिलाएर फ्रिजमा राखेको मासु स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिन्छ ।
मासु जाँच ऐन २०५५ कार्यान्वयनमा अनआउँदा परिक्षण विनानै रोगी–व्यादी, बीरामी भएका खसी, बाख्रा, भेडा, च्याङग्रा, राँगा, सुङगुर, बंगुर, कुखुरा, हाँसको समेत मासु विक्रि गरिने भएकाले रोगबाट बच्नका लागि फ्रिजमा राखेको मासु उपभोग गर्नु पर्ने तुलसीपुर उपमहानगरपालिका अन्तर्गत पशु सेवा शाखा कार्यालय तुलसीपुरले जनाएको छ ।
माईनस १५ डिग्रि सेल्सीयसमा ३० दिन र माइनस २५ डिग्री सेल्सीयसमा १० दिनसम्म मासुलाई फ्रिजिङ गर्दा सबै भन्दा खतरनाख मानिने फिते जुकाको सिष्ट समेत मर्ने भएकाले यो विधि सबै भन्दा उपयुक्त मानिने कार्यालयका प्रमुख सुदाम भट्टले बताउनुभयो । पशु वधशाला र मासु जाँच ऐन, २०५५मा पशु वध गर्नु अघि र पछि जाँच गर्नु पर्ने, दुध तथा मासु विक्रेताको ३/३ महिनामा स्वास्थ्य परिक्षण गर्नु पर्ने, मासु अनिवार्य फ्रिजमा राख्नु पर्ने व्यवस्था छ ।
पशुपंक्षीको मासु मात्रै हैन गोठबाट ओठ सम्म दुध र बधशालाबाट भान्सा सम्म मासु पु¥याउदा सामान्य कुरामा समेत ख्याल नपु¥याउदा गम्भिर प्रकृतिका रोगहरु लाग्न सक्ने भन्दै सचेत हुन समेत कार्यालय प्रमुख भट्टको सुझाव छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ९ गते बिहिवार
प्रतिक्रिया