खाद्रेमा टेलिकम टावर स्थापना

तुलसीपुर,७ फागुन 

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ खाद्रेमा नेपाल टेलिकमको विटिएस टावरको स्थापना गरिएको छ । लामो समयदेखि सञ्चार सुविधाबाट वञ्चित रहेका त्यहाँका वासिन्दाहरुले टावरको स्थापनासँगै राहतको महसुस गरेका छन् । “फोन गर्नका लागि डाँडामा जानुपर्थ्यो वल्ल सजिलो हुने भयो ” स्थानीय शोभाराम वुढाथोकीले वताए । उनले लामो समयदेखिको सञ्चार सुविधाको माग पुरा भएकोमा खुसी समेत व्यक्त गरे ।
टावरको उद्घाटन कार्यक्रममा वोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जनताको आधारभुत आवश्यकता पुरा गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टेलिकम टावरको स्थापनामा पहल गरेको वताए । “हामी जनताका आवश्यकताप्रति सधै क्रियाशिल छौ” प्रमुख पाण्डेले भने । उनले सञ्चार सुविधाको अभाव रहेको अन्य वडाहरुमा पनि टावर स्थापनाका लागि पहल गरिरहेको समेत जानकारी दिए । “विभिन्न ५ वटा ठाउँहरुमा टावर राख्नका लागि हामीले आग्रह गरेका छौ ” पाण्डेले भने । उनले मोवाइलको टावर नभएका कारणले सञ्चार सुविधाबाट वञ्चित हुने क्रमको अन्त्यका लागि पहल गर्ने वताए ।
टावर स्थापनासँगै खाद्रे, वनहरी, खुमखानी, लामिदमार, मुलकोट, तरुले, घोरनेटी, सक्राम लगायत अन्य ठाउँका जनताले पनि सञ्चार सुविधा पाउने वडाध्यक्ष वालकृष्ण रानाले वताए । उनले तत्काल थ्रिजी सेवा सञ्चालनका लागि पनि नेपाल टेलिकममा आग्रह गरिएको जानकारी दिए । टावरले तिन किलोमिटर आसपासमा काम गर्ने प्राविधिक निमवहादुर गुरुङले वताए । वडाध्यक्ष वालकृष्ण रानाको अध्यक्षतामा भएको टावर उद्घाटन कार्यक्रमको सहजिकरण वडा सचिव लोकमणी पोख्रेलले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया