काठमाडौ, ६ फागुण । सरकारले देशभर पूर्ण रुपमा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको छ । गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको सरकारले अटेरी गरेको भेटिए उपकरण जफत गरी कानुनी कारवाही गर्ने चेतावनी दिएको हो ।निर्देशन अटेर गरी ‘कसैले एनालगर प्रणालीका टेलिभिजन प्रसारणरविवरण गरेको भेटिएमा उपकरणहरु जफत गरी कानुन बमोजिम कारवाही गरिने’ चेतावनी दिइएको छ ।
टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन सरकारले एनालग केबल टेलिभिजन बन्द गर्ने नीति लिएको छ । सोमबार सार्वजनिक सूचना जारी गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अहिले पनि एनालग टेलिभिजन सेवा सञ्चालनमा रहेको भेटिए जानकारी दिन आग्रह गरेको छ ।
मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार चरणवद्धरुपमा विभिन्न महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको थियो ।पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गराइएको थियो ।दोस्रो चरणमा अन्य महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा बन्द गराएको मन्त्रालयले गत बैशाख १५ मुलुकभर नै एनालग टीभी बन्द गर्न भनेको थियो ।
सबै टेलिभिजन सेवा प्रदायकले अनिवार्यरुपमा डिजिटाइजेशनमा जान अनुमति लिएर अपग्रेड हुनैपर्ने मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।सबै क्षेत्रमा अनुगमन भइरहेको र निर्देशन नमानेको पाइए कारवाही गर्ने उनले चेतावनी दिए । एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्रा्ष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको तर्क सरकारको छ । तर, खर्च बढाएको भन्दै अधिकांश उपभोक्ता नै सन्तुष्ट छैनन् ।
यो व्यवस्थाअनुसार हरेक टेलिभिजनका लागि १५ सयदेखि ४५सयसम्म मूल्यका छुट्टै सेट(टप बक्स लगाउनुपर्छ । तर, प्रत्येक सेट(टप बक्सको सेवा शुल्क फरक(फरक रुपमा भुक्तानी गर्नुपर्छ । यो सेट(टप बक्स टीभीमा केबल जोड्नु अघिको प्वाइन्टमा जोडिन्छ ।यसका लागि केबल टीभी अपरेटरले भने आफ्नो हेड(इन (कन्ट्रोल रुम) मा पनि सबै उपकरण डिजिटलाइज्ड गर्नुपर्छ । यो प्रणालीअनुसार ग्राहकले घरमा जतिवटा टीभी छन्, त्यति नै वटा सेट(टप बक्स जोड्नुपर्छ । अब हरेक टेलिभिजनमा सेट(टप बक्स राखेर सेवा लिएबापत अपरेटरलाई छुटटै शुल्क तिर्नुपर्छ ।
महंगो परेपनि ग्राहकले भने गुणस्तरीय टेलिभिजन सेवा भने पाउने भनाइ सरकारको छ । टेलिभिजन डिजिटलाइज्ड गर्न स्याटलाइट प्रविधिमा आधारित डीटीएच पनि प्रयोग गर्न सकिन्छ । अहिले नेपालमा डिसहोम र नेपाल डिजिटल केबलले यो सेवा दिइरहेका छन् ।
यस्तै इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटिभी) का माध्यमबाट पनि डिजिटल टेलिभिजन हेर्न सकिने छ । यो इन्टरनेटमा आधारित टेलिभिजन सेवा हो ।डिजिटल टेरेस्टोरियल टेलिभिजन (डीटीटी) प्रविधिमा पनि डिजिटल टेलिभिजन हेर्न सकिन्छ । एन्टेना प्रविधिबाट टीभी हेर्ने डिजिटल रुपको यो सेवाका लागि अनुमति लिए पनि नेपालमा सुरुवात हुन भने बाँकी छ ।
इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयू)ले निर्धारण गरे बमोजिम एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई डिजिटल प्रणालीमा बदल्न बाध्यकारी नियम ल्याएको प्रवक्ता तिवारी बताउँछन् ।यसले परम्परागत न्यून गुणस्तरको टेलिभिजन सिग्नलको सट्टा उपभोक्ताले स्तरीय सेवा पाउने दावी सरकारको छ । राष्ट्रिय प्रसारण नियमावली २०५२ मा संशोधन गरेर तोकिएका क्षेत्रहरुमा एनालग सिग्नल पूर्णरुपमा प्रतिबन्धित र गैरकानुनी हुने ब्यवस्था गरेको छ ।