शैक्षिक महोत्सवको आम्दानी खर्च सार्वजनिक

 

तुलसीपुर, २० माघ
तुलसीपुर– ८ अश्वारा स्थित माध्यामिक विद्यालय अश्वाराले शैक्षिक तथा धार्मिक महोत्सवको आयव्यय बिबरण सार्वजनिक गरेको छ ।

विद्यालयले सरोकारवाला निकायलाई बोलाएर आम्दानी तथा खर्च सार्वजनिक गरेको हो । विद्यालयका प्रधानाध्यापक हिरालाल न्यौपानेले आम्दानी तर्फ ५५ लाख ९७ हजार ९ सय दई रुपयाँ आम्दानी र २१ लाख ३७ हजार ६ सय ८९ रुपैयाँ खर्च भएको बताउनुभयो ।

प्रधानाध्यापक न्यौपानेका अनुसार नगदी रसिदबाट ४० लाख ३८ हजार ३ सय ९४ रुपैयाँ, कलसबाट ४ लाख ४४ हजार ४ सय , दानपत्रबाट ४२ हजार ८ सय ८५, धानबाट ६९ हजार ७ सय ५०, जिन्सीबाट ५ लाख ९५ हजार ४ सय ६५, र उठ्न बाँकी ४ लाख ७ हजार ८ सय १५, सहित ५५ लाख ९७ हजार ९ सय दई रुपयाँ आम्दानी भएको थियो । त्यसैगरी खर्च तर्फ प्रचार प्रसार, इन्धन, बाजा, पुरस्कार, छायाँकन, फ्रेम, साउण्डसिष्टम, पण्डित खर्च लगाएत विभिन्न शिर्षमा जम्मा २१ लाख ३७ हजार ६ सय ८९ रुपैयाँ खर्च भएको छ ।

प्राविधिक शिक्षा संचालन तथा स्मार्ट विद्यालय निर्माणका लागि विद्यालयले माघ ५ गते देखि १२ गते सम्म शैक्षिक तथा धार्मिक महोत्सव संचालन गरेको थियो । महोत्सव मुल आयोजक समितिका संयोजक टेकनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापनि समितिका पूर्व अध्यक्ष योगेन्द्रबहादुर शाह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरणबहादुर शाह, अथिति सत्कार उपसमितिका संयोजक दशरथ वली, समाजसेवी शेषमणी शर्मा लगाएतले पवीत्र लक्ष्य बोकेर संकलित रकमलाई सही रुपमा परिचालन र सदुपयोग गरेमा मात्रै दानदाताले दिएको आर्थिक रकमको उद्देश्य पुरा हुने बताएका थिए ।

प्रकाशित मिति : २०७५ माघ २० गते आइतवार
प्रतिक्रिया