प्रहरीलाई ठुलो सफलता, ५ थान भरुवा बन्दुक सहित दुई जना पक्राउ

तुलसीपुर, २० माघ । प्रहरीले दाङमा गएराती ठूलो मात्रामा हातहतियार बरामद गरेको छ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाकामा विभिन्न प्रकारका हतियार बनाउने कारखानामा छापा मारेर प्रहरीले हतियार सहित दुई जनालाई पक्राउ गरी आईतवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरि भौवानाका निबासी ५९ बर्षिय जितबहादुर बुढालाई विभिन्न प्रकारका हतियार सहित सार्वजनिक गरेको हो ।

हतियार बनाउने कारखानाबाट बरामद भएका भरुवा बन्दुक ५ थान, एयरगन राईफल ३ थान, १२ बोरको राइफल १ थान, कटुवा पेस्तोल १ थान, ठूलो हतियारको नाल २९ थान र सानो हतियारको नाल १२ थान सहित हतियार बनाउने बिभिन्न सामाग्रिहरु प्रहरीले बरामद गरेर प्रहरी प्रमुख एसपी वेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।

यस्तै आरन मेसिन सेट १ थान, ९ साइकलको रिङ १ थान, काठको पंख्खा १ थान, पंख्खा घुमाउने फित्ता १ थान, रेती ३ थान, हेक्साब्लेट १ थान, हतौडा सानो र ठुलो १÷१ थान, पेचकस १ थान, छिना लगाएत विभिन्न सामग्रीहरु बरामद गरिएको छ ।पक्राउ परेका बुढालाई मूलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ बमोजिम हातहतियार तथा खरखजाना सम्बन्धी मुद्धामा अदालतबाट म्याद थप गरेर अनुसन्धान र कारर्वाही प्रकृया अघि बढाईएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिएका छन् ।

साथै सोही ठाउँका ३८ बर्षिय रुद्रमणी घर्तीलाई पनि एक थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । हतियार बनाउने बुढाकै कारखानाबाट ३ बर्ष पहिले १० हजारमा किनेको भरुवा बन्दुक सहित घर्तीलाई पक्राउ गरि कारर्वाही प्रकृया अघि बढाईएको प्रहरी प्रमुख पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । यसैविच दाङ प्रहरीले विभिन्न स्थानबाट चालु आर्थिक बर्षमा ७ वटा भरुवा बन्दुक, २ थान रिभल्वर र एउटा पेस्तोल गरी १० थान हतियार बरामद गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

प्रकाशित मिति : २०७५ माघ २० गते आइतवार
प्रतिक्रिया