बिवाहको निम्तो दिन गएका आफन्तको हत्या गर्ने एक व्यक्ति पक्राउ

सल्यान , २० माघ । बिवाहको निम्तो दिन गएका आफन्तको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ सालघारी निबासी ४२ बर्षिय यमन बोहराको हत्या गर्ने अभियुक्तलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सोहि वडाको टाकुरागाउ बस्ने ४६ वर्षिय सालिकराम चलाउने रहेको जिल्ला प्रहरी कार्यालय सल्यान प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिनु भएको छ ।
गत माघ ४ गते विहान पौने नौ बजेतिर छोराको बिवाहको निम्तो दिन चलाउनेको घरमा गएका बोहराको टाउकोमा हतौडा प्रहार गरी हत्या भएको थियो । हत्या गरी फरार रहेका चलाउनेलाई कुमाख लेख स्थित टावर मुनिको जंगलमा लुकिछिपी बस्दै आएको अवस्थामा सोहि दिन पक्राउ गरे पनि प्रहरीले आईतवार मात्र अभियुक्तलाई सार्वजनिक गरीएको छ ।
अभियुक्त चलाउनेकी श्रीमती गोमा संग मृतकको नाता सोल्टिना पर्ने हुदा उनीहरु विच अनैतिक सम्बन्ध रहेको भनि शंका गदै आएकोेमा उक्त दिन सोहि शंका मानेर हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताईएको छ । अभियुक्त चलाउनेलाई कर्तव्य ज्यान मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालत सल्यानमा बुझाईएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ माघ २० गते आइतवार
प्रतिक्रिया