तुलसीपुरका मासु व्यवसायीले भने : हामी भाडा तिर्दैनौ

 

तुलसीपुर
तुलसीपुरका मासु व्यवसायीले उपमहानगरपालिकाले सहमति अनुसार काम नगरे भाडा नदिने चेतावनी दिएका छन् । नयाँ बस पार्क स्थित पशु बधशालाका मासु व्यवसायी र तुलसीपुर उपमहागनरपालिका बिच तोकिएको स्थानमा मात्रै पशुपंक्षिको मासु विक्रीवितरण गर्न पाईने सहमति भएको थियो ।

सहमति कार्यान्वयन गर्न उदासीन भएको भन्दै व्यवसायीले घरभाडा बापत तिर्दै आएको मासीक ४९ हजार २ सय रुपैयाँ तुलसीपुर उपमहागनरपालिकालाई नदिने मासु व्यवसायी समितिका सचिव लक्ष्मण केसीले बताउनुभयो ।
सचिव केसीका अनुसार तोकेको मापदण्ड विपरित बजारका करिब ८० स्थानमा बंगुर, कुखुरा र माछाको विक्रिवितरण हुँदै आएको छ । तुलसीपुर उपमहागनरपालिकाले प्रकाशित गरेको तुलसी राजपत्रमा, पुर्वमा हात्तिखौवा, दक्षिणमा गुम्राह चोक, पश्चिममा पातुखोलाको पुल र उत्तरमा सल्यान सडक खण्डको गोदामघर क्षेत्रको चार किल्ला भित्र खुल्ला रुपमा मासु विक्रिवितरण गर्न नपाईने उल्लेख छ । राज पत्रमा उल्लेखित नियमलाई उलंघन गरेर मासु व्यवसाय गरेमा एक हजार पाँच सय देखि पाँच हजार रुपैयाँ सम्म जरीवाना र सामान जफत गर्न सकिने कानुनी व्यवस्था छ । यद्यपी कार्यान्वयनमा भने आउन सकेको छैन् ।

‘हामी दोहोरो मारमा प¥यौं,’– मनोज कुखुरा पसलका संचालक मनोज बुढाथोकीले भन्नुभयो, ‘ हामी महंगो भाडा र राज्यलाई कर तिरेर कुनामा व्यवसाय गरेर बर्षौ देखि बस्दै आएका छौ । कसैले राज्यलाई ठगि गरेर बजारका मुख्य भागमा व्यवसाय गरेर बस्ने । यो त भएन नि । हामीहरुसंग उपमहागनरपालिको गरेको सहमति पुरा गरेको खै ?’

उपमहागनरपालिकाले मासु व्यवसायीसंग गरेको सहमति पालना नगर्दा आफुहरु मारमा परेको भन्दै व्यवसायी बुढाथोकीले यथासिघ्र कार्यान्वयन गर्न माग गर्नुभयो । स्वच्छ मासु एकै ठाउँबाट विक्रिवितरण गर्न र मुल्यमा एक रुपमा ल्याउन २०५७ साल देखि तत्कालीन नगरपालिका र अहिलेको उपमहागनरपालिकासंग बारम्बार अनुरोध गरेपनि कुनै सुनुवाई नभएको व्यवसायीले गुनासो गरेका छन् । आफना माग सुनुवाई नभएपछि व्यवसायीले २०७० देखि उपमहानगरपालिकालाई दिदै आएको मासीक भाडा रोकेका थिए ।

जनप्रतिनिधि आएसंगै सहमति कार्यान्वयन हुनेमा आशावादी देखिएका व्यसायीले पुनः बजारका विभिन्न स्थानमा छाडा रुपमा मासु व्यवसाय गर्दै आएकालाई नियन्त्रण गर्ने सहमति अनुसार चार बर्षको २६ लाख ३३ हजार ९ सय २० रुपैयाँ २०७४ फागुन २७ गते बुझाएका थिए ।
यता तुलसीपुर उपमहागनरपालिकाले एक हप्ताभित्र देखिने गरी काम गर्ने बताएको छ । अहिले पनि काम गर्दै आएको भन्दै उपमहानगरपालिकाका प्रशासकिय अधिकृत आनन्द सारुले अनुगमण कार्य अहिले जारी रहेको भन्दै एक हप्ता भित्र देखिने गरी काम गर्ने बताउनुभयो ।

तुलसीपुर बजारलाई स्वच्छ राख्न जथाभावी रुपमा गर्दै आएको मासु व्यवसायलाई नियन्त्रण गर्न आवश्यक रहेको भन्दै पशु सेवा कार्यालयलाई तत्काल निर्देशन दिने बताउनुभयो । ४१ जना मासु व्यवसायी रहेको पशु बधशालामा खसी, राँगा, कुखुरा, बंगुर र बाख्री सहित दैनिक एक हजार नौ सय ६० किलो मासु खपत हुँदै आएको मासु व्यवसायी समिति तुलसीपुरका कार्यालय सचिव तेजबहादुर खड्काले जानकारी दिनुभयो । कार्यालय सचिव खड्काका अनुसार खुल्ला रुपमा बजारमा मासुपसल गर्दा पशुबधशालाको कारोबारमा गिरावट आएको छ ।

प्रकाशित मिति : २०७५ माघ १७ गते बिहिवार
प्रतिक्रिया