आज माघ १६ अर्थात शहिद दिवस

दाङ, १६ माघ । माघ १६ गते अर्थात शहिद दिवस विबिध कार्यक्रम मनाईदैछ । प्रजातन्त्रका लागि प्राण आहुती दिने वीर शहीद प्रति श्रद्धा सुमन व्यक्त गर्दै विगतका वर्ष जस्तै यो वर्ष पनि शहीद दिवस मनाइँदैछ । कठोर र निरङ्कुश राणा शासन विरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार शहीद प्रति श्रद्धा सुमन व्यक्त गर्दै मुलुकभर सप्ताहका रूपमा शहीद दिवस मनाउन शुरु गरिएको हो ।
वि.सं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १४ गते गङ्गालाल र दशरथलाई शोभा भगवती घोडेनागस्थित भचाखुसीमा मृत्युदण्ड दिइएको थियो । क्रान्तिमा नवयुवकलाई भड्काएर देशमा विद्रोह फैलाएको अभियोगमा टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा कपाल मुडेर वन्दी बनाइएको थियो । यो घटना पछि कारागारमै शहीद दिवस मनाउन थालिएको थियो तर त्यो समाचार पनि प्रजातन्त्र स्थापना भएपछि मात्र सार्वजनिक भएको थियो ।
आचार्य र शर्माले कारागारमै शहीद दिवस मनाउन थाल्नुभयो । त्यसपछि वि.सं २०११ साल सम्म नेपालको पहिलो राजनीतिक दल प्रजापरिषद्ले शहीद सप्ताह मनाएको थियो । त्यसअघि २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको हर्ष उल्लासमा वि.सं २००९ सालमा तत्कालीन राजा त्रिभुवनको अध्यक्षतामा शहीद सप्ताह मनाइएको थियो ।
२०१७ साल पुस १ गतेको कदम अघि सम्म हर्ष उल्लास साथ शहीद दिवस मनाइन्थ्यो । वि.सं. २०१७ सालपछि दलमाथि प्रतिवन्ध लगाइएपछि शहीद सप्ताह ओझेलमा परेको जानकारहरु बताउँछन् । तत्कालिन काठमाडौँ नगरपालिका तहमा मनाइने शहीद दिवस २०४६ पछि भने हर्षोल्लासका साथ मनाउन थालियो । भरखरै सरकारको मन्त्री परिषद बैठकले नेपाली सेना, सशत्र प्रहरी र राष्टिय अनुसन्धान विभागमा कार्यरत रहेर शाहदत प्राप्त गरेका सुरक्षाकर्मीलाई पनि शहिद घोषणा गर्ने निर्णय गरेको छ । जसमा दुई हजार आठ सय सात जना सुरक्षाकर्मीको संख्या रहेको छ ।
शहीद दिवसको अवसरमा यस अघि सरकारले सार्वजनिक विदा दिदै आएको थियो । तर गत वर्ष देखी सरकारले विदा दिने प्रचलन मधये शहिद दिवसको विदा पनि कटौती गरेको छ । प्रदेश– ३ सरकारले भने शहीद दिवस मनाउन सार्वजनिक विदाको घोषणा गरे पनि अन्यौलता भएको छ । प्रदेश ३ मा सार्वजनिक विदा दिने घोषणा प्रदेश सरकारले गरेपनि प्रदेशका काठमाडौ उपत्यका सहित तिन जिल्लाले विदा नदिने बताएपछि अन्यौलता छाएको छ । अन्य ६ वटा प्रदेशले भने सार्वजनिक विदा दिने बारे कुनै आधिकारिक निर्णय सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : २०७५ माघ १६ गते बुधवार
प्रतिक्रिया