सरकारविरुद्ध कांग्रेसले देशैभर प्रदर्शन गर्ने

काठमाण्डाै,१३ माघ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशैभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेकाे छ । कांग्रेसकाे आइतबार बसेकाे केन्द्रिय कार्य समितिको बैठकले आउँदाे २१ गते सोमबार देशका सबै जिल्लाहरुमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेकाे हाे ।

सरकारले आफूहरुको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको र पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको दुई वटा अस्पताल खारेज गर्ने प्रयास गरेको भन्दै कांग्रेसले त्यसविरुद्ध ७७ वटै जिल्लामा प्रर्दशन गर्ने निर्णय गरेकाे हाे ।

पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एक साथ सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो । काँग्रेसले निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, प्रमुख प्रतिपक्ष दलको नेताको अनुस्थितिमै संवैधानिक परिषदको बैठक बोलाएर निर्णय गरेको लगायतका विषयप्रति पनि आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गर्दै आएको छ ।

बैठकले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न पनि सरकारलाई आग्रह गरेको छ । प्रवक्ता शर्माले डा. केसीको जीवन रक्षाका लागि पहल गर्न पनि सरकारलाई सचेत गराइएको बताउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा विधेयकमा केही व्यक्तिको असन्तुष्टि भन्दै डा. केसीप्रति इंगित गर्दै दिएकाे जवाफ गैर जिम्मेवार भएको टिप्पणी गर्दै प्रवक्ता शर्माले आपत्ति पनि जनाउनु भयो ।

कांग्रेसले व्यक्तिको स्वतन्त्रताको हकलाई समेत प्रधानमन्त्री ओलीले सम्मान गर्न नसकेको आरोप लगाएको छ ।

प्रकाशित मिति : २०७५ माघ १३ गते आइतवार
प्रतिक्रिया