काठमाडौँ, माघ १३ ।
सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सातदोबाटो–रत्नपार्क–महाराजगञ्ज (नारायणगोपाल चोक) जोड्ने प्रस्तावित उक्त मेट्रो रेल निर्माणखण्डको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल विभागका प्रवक्ता अमन चित्रकारले प्रस्तावित मेट्रो रेल निर्माणका लागि रेल विभागले विश्वव्यापी (ग्लोबल) बोलपत्र आह्वान गरेको जानकारी दिनुभयो । बोलपत्र भर्ने अन्तिम मिति फागुन १२ गते (२४ फेब्रुअरी) सम्म छ ।
डीपीआर तयार गर्ने कम्पनीले वातावरण मूल्याङ्कन प्रतिवेदन, सर्वेक्षण, ढाँचा (डिजाइन) समेत तयार गर्ने जानकारी प्रवक्ता चित्राकारले दिनुभयो । कुल १२ किलोमिटर लम्बाइ हुने उक्त रेलमार्गको सम्भाव्यता अध्ययन यसअघि नै तयार भइसकेको छ । सन् २०११ मा नै कोरियन कम्पनीले यसको सम्भाव्यता अध्ययन गरेको थियो ।
सम्भाव्यता अध्ययन प्रतिवेदनले सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक १२ किमी, कीर्तिपुर–कालिमाटीे–नयाँबानेश्वर–एयरपोर्ट ११ किमी, कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किमी, स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किमी र धोबिघाट–सिंहदरबार–नक्साल–गोङ्गबु १४ किमी मेट्रो रेल बनाउन सिफारिश गरेको थियो ।