काठमाडौं, माघ ६ ।
प्रधानमन्त्री केपी ओली विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक सभामा भाग लिन आज स्विट्जरल्यान्डतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । यही जनवरी २२ देखि २५ सम्म स्विट्जरल्यान्डको डाभोसमा हुने बिश्व आर्थिक मञ्चको सभामा प्रधानमन्त्री ओली सहभागी हुन लाग्नुभएको हो ।
विश्वभरका सरकार प्रमुख तथा निजी क्षेत्रका प्रमुखहरू सहभागी हुने मञ्चको वार्षिक सभामा सहभागी हुने ओली नेपालका पहिलो प्रधानमन्त्री हुनुहुन्छ । नेपालको प्रगतिसँगै बिश्वमञ्चमा नेपालको छाप परेपछि ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो मञ्चमा सहभागी हुन लाग्नुभएको हो ।
विश्वभरका ३ हजार सरकारी तथा निजी क्षेत्रका नेता भेला हुने डाभोसमा प्रधानमन्त्री ओलीले २२ र २३ जनवरीमा हुने दुईवटा सत्रमा प्यानलिस्टका रूपमा सम्बोधन गर्नुहुनेछ । पहिलो सत्र ‘दक्षिण एसियामा रणनीति दृष्टिकोण’ शीर्षकमा हुनेछ भने दोस्रो सत्र ‘प्रजातन्त्रको भविष्यको आकार निर्धारण’ रहेको छ ।
त्यस्तै, ‘हामीले अहिले देखेजस्तो विश्व व्यापारको अन्त्य’ शीर्षकको अनौपचारिक सभालाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यत्रम रहेको छ । त्यस सभामा विश्वका आर्थिक क्षेत्रका नेताहरू सहभागी हुनेछन् । आन्तरिक समस्याका कारण देखाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अन्तिम समयमा भ्रमण रद्द गर्नुभएको छ ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भियतनामलगायत मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग द्विपक्षीय वार्तासमेत गर्नुहुनेछ । त्यस्तै, विश्वका ठूला कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू, विश्वविख्यात मिडियासँग अन्तरक्रिया र छफलफलसमेत हुनेछ ।
प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री डा युवराज खतिवडा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओली २६ जनवरीमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।