लमहीमा पाँचौ देउखुरी महोत्सव सुरु

ओमप्रकाश गुप्ता, लमही ४ माघ ।

प्रदेश नम्बर ५ का सभामुख पुर्णबहादुर घर्तीले प्रदेशको स्थायी राजधानी सडकबाट नभई प्रदेशसभाबाट टुंगो लगाउने बताएका छन् । देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा शुक्रवार देखि लमहीमा सुरु भएको पाँचौ देउखुरी व्यापारीक महोत्सव २०७५ लाई उद्घाटन गर्दै सभामुख घर्तीले सो कुरा बताएका हुन् ।

सभामुख घर्तीले भौगोलिक अवस्था, सुगमता, सुरक्षा र सवैलाई पायक पर्ने ठाउँमा राजधानी बनाउन माघको दोस्रो वा तेस्रो साता विषेश समिति जिल्ला जिल्लामा जाने र आएको सुझावलाई मध्यनजर गरी राजधानीको टुंगो लाग्ने बताए । साथै उनले लमहीलाई प्रदेश नम्बर ५ को जैविक पार्कको रुपमा विकास गर्ने समेत बताए ।

कार्यक्रममा प्रदेश सांसद रेवतीरमण शर्माले जनताको विकास भए मात्र प्रदेशको विकास हुने भएकाले कृषि,सहकारी र औद्योगिक क्षेत्रको विकास गर्न आवश्यक रहेको बताएका छन् । त्यस्तै अर्का सांसद इन्द्रजित थारूले देउखुरी विकासका लागि प्रदेश सरकार अगाडि बढिरहेको बताएका छन् त्यस्तै सांसद दामा शर्माले प्रदेश राजधानी बनाउने विषयमा अहिले संसदमा सवैलाई पायक पर्ने ,सुगम र दिर्घकालिन हिसाबले पनि दाङ उपयुुक्त भएकाले पहलकदमी जारी रहेको बताएकी छिन् ।

संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ भारी, उद्योग वाणिज्य संघ प्रदेश नम्बर ५ का उपाध्यक्ष हेमराज बञ्जाडे, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर ५ का अध्यक्ष केपी घिमिरे,लमही नगरपालिकाकी उपमेयर देवका बेल्वासे लगायतले बोलेका थिए ।

संघका उपाध्यक्ष विनोद कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संघका सदस्य कृष्ण घिमिरेले गरेका थिए । मिनी सिटीहल निर्माण गर्ने मुख्य उद्देश्यले अजम्मरी सामुदयिक वनको जैविक विविधता पार्कमा संचालन भइरहेको महोत्सवमा कृषि ,व्यापारीक,खाद्यान्न लगायत करिव ३ सय स्टल रहेको महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र ५० लाख बराबरको कारोवार गर्ने लक्ष्य रहेको संघका कोषाध्यक्ष केशव घिमिरेले जानकारी दिएका छन् ।

महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि टिकट दर ६० र विद्यार्थीका लागि ४० रुपैयाँ कायम गरिएको छ । महोत्सव माघ १६ गते सम्म सञ्चालन हुने बताइएको छ । यसै बिच महोत्सवमा भोली गायक कमल खत्री, विजय पुन, गायिका भुमिका गिरी र कमल नारायणी ग्रुपको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ माघ ४ गते शुक्रवार
प्रतिक्रिया