पत्रकार थापा र देवकोटाले आचारसंहिता विपरित काम गरेको पुष्टि

तुलसीपुर,४ माघ ।
दाङका पत्रकार सागर थापालाई पत्रकार महासंघ दाङ शाखाको साधारण सदस्यता खारेजीका लागि केन्द्रिय समितिमा सिफारिश गरिएको छ । शाखाका अध्यक्ष सबिन प्रियासनको अध्यक्षतामा आज बसेको १० औं बैठकले यस्तो निर्णय गरेको हो ।
महासंघका साधारण सदस्य थापालाई इप्रका अमिलियाका प्रमुख प्रहरी निरिक्षक युवराज चौधरीसँग पैसा मागेको आरोप लागेको थियो । पत्रकार थापाले प्रहरीसँग अबैध रुपमा पैसा मागेको समाचार सार्वजनिक भएपछी महासंघले शाखा अध्यक्ष सविन प्रियाशनको संयोजकत्वमा छानविन समिती बनाएको थियो ।

छानविनका क्रममा पत्रकार थापाले पत्रकार महासंघ र आचारसंहिता विपरीत काम गरेको पाइएकाले साधारण सदस्यता खारेज गर्न केन्द्रीय समितीलाई सिफारिस गरिएको अध्यक्ष प्रियासन र सचिव भुपेन्द्र वलीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

शाखाद्धारा २०७५ पौष २६ गते गठित छानबिन समितिले अध्ययन अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा पत्रकार महासंघको विधान र आचारसंहिता विपरित काम गरेको स्पष्ट आधार प्रस्तुत भएकाले निजलाई निम्नानुसार कारबाही गर्नका लागि केन्द्रिय समिति समक्ष सिफारिश गर्ने निर्णय गरिएको हो ।

यस्तै सैघाली खबरमा कार्यरत विष्णूकुमार देवकोटाले पत्रकार आचार संहिता विपरित काम गरेको निष्कर्ष प्रतिवेदनमा उल्लेख भएकाले निजलाई हाल पत्रकार महासंघको साधारण सदस्यता प्राप्तीको प्रक्रियामा समावेश नगर्ने निर्णय गरिएको छ ।

पत्रकार आचारसंहिता विपरित विभिन्न गतिविधि भईरहेको भन्ने जनगुनासो आइरहेकोले जिल्लाका आम सञ्चारकर्मी र सञ्चारमाध्यमालाई त्यस्ता गतिविधि नगर्न सचेत गराउने र आचारसंहिता विपरित भईरहेका गतिविधि बारे सजग हुँदै यस्ता कुरा महासंघलाई जानकारी गराउन आह्वाहन गर्ने निर्णय गरिएको छ ।

साथै महासंघको सदस्य रहेपनी पत्रकारितामा सक्रिय नभएकालाई सदस्यता छोड्न सार्वजनिक आह्वाहन गर्ने र निष्क्रिय र आचारसंहिता विपरित काम गर्ने सदस्यबारे छानबिन र शुद्धिकरण प्रक्रियालाई अघि बढाउने निर्णय गरिएको छ । शाखाका संस्थापक अध्यक्ष बरिष्ठ पत्रकार नारायण प्रसाद शर्माको विशेष उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७५ माघ ४ गते शुक्रवार
प्रतिक्रिया